१२ चैत्र, एजेन्सी। भारतले अक्सफर्ड–आस्ट्राजेनेकाद्वारा उत्पादित कोरोनाविरुद्धको खोपको निर्यातमा अस्थायी रोक लगाएको छ। हालका लागि अक्सफर्ड र आस्ट्राजेनेकाले उत्पादन गरेका खोपको निर्यातमा अस्थायी रोक लगाएको भारतीय विदेशमन्त्रालयले जनाएको छ।
यो निर्णयअनुसार अब अन्य मुलुकहरुले भारतबाट कोरोनाविरुद्धको खोप पाउनमा बन्देज लाग्नेछ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा स्वदेशमै खोपको माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका हुन्। भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ।
यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना देखिएको छ।विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको कोभ्याक्स योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।
भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ।
हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल पनि परेका छन्। भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ । त्यसमध्ये अक्सफर्ड–आस्ट्राजेनेकाकै खोप बढी रहेको बिबिसीले जनाएको छ।









