पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प : ह्वाइटहाउस छोडेको पाँच सातापछि सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

९ फागुन, वासिङ्टन, एजेन्सी। पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउस छोडेको पाँच सातापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।

ओर्लान्डो फ्लोरिडामा फेब्रुअरी २५ देखि २८ सम्म हुने कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फेरेन्समा ट्रम्प सहभागी हुने उनीनिकट स्रोतहरूले जानकारी दिएका छन्।

ट्रम्पले कन्फेरेन्समा रिपब्लिक पार्टीको भविष्य र राष्ट्रपति जो बाइडेनले लिएका नीतिहरूबारे बोल्ने बताइएको छ। जनवरी २० मा ह्वाइटहाउस छोडेपछि ट्रम्पले आफ्ना शुभेच्छुक मिडियाहरूमा अन्तर्वार्ता र वक्तव्य दिएको भए पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।

ट्रम्पले सन् २०२२ मा हुने ‘मिडट्रम’ चुनावमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।कतिपयले उनी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवार हुने अनुमान गरेका छन्।

गत साता माथिल्लो सदन सिनेटमा रिपब्लिकन सिनेटरहरूले उनीविरूद्धको महाअभियोग प्रस्तावलाई असफल बनाइदिएपछि ट्रम्पलाई फेरि राष्ट्रपति उम्मेदवार बन्न कुनै रोकटोक हुने छैन।

[sidebar name="button post"]