भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने

५ फागुन, एजेन्सी । भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने भएको छ। महिलालाई मथुराको महिला जेलमा बनाइएको फाँसी घरमा झुण्ड्याइने भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

तर जेल प्रशासनले भने ती महिलालाई मृत्युदण्ड दिन लागिएको हो भनेर प्रस्ट रुपमा भनिसकेको छैन । तर मथुरा जेलमा महिलालाई फाँसी दिने व्यवस्था छ । शबनम नाम गरेकी एक महिलाले मृत्युदण्डको सजाय पाएकी छन् ।

राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वीकार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृत्युदण्ड दिने बाटो खुलेको छ ।

समाचार उल्लेख भए अनुसार अमरोहा निवासी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्ममतापूर्वक हत्या गरेका थिए ।

उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि दुवै मिलेर शबनमको परिवारकै हत्या गर्ने योजना बनाइएको थियो । उक्त योजनाअनुसार पहिला परिवारका सबै सदस्यलाई बेहोसीको औषधि खुवाइएको थियो । बेहोस भएको मौका छोपी सबैलाई बञ्चरो प्रहार गरी हत्या गरिएको बताइन्छ ।

मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँसी घर बनाइएको थियो । यो जेलमा महिलालाई फाँसी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फाँसी दिइएको छैन ।

हालै जेल प्रशासनले कसुरदारलाई फाँसीमा झुण्ड्याउने जल्लादलाई दुई पटक फाँसी घरको निरीक्षण गराएको बताइन्छ । उनकै सुझावका आधारमा फाँसी घरको मर्मत र फाँसीमा प्रयोग हुने डोरीसमेत जेल प्रशासनले मगाएको भारतीय मिडियाले जनाएका छन् ।

[sidebar name="button post"]