भारतमा यात्रुवाहक बस नहरमा खस्दा ३७ जनाको मृत्यु

४ फागुन, एजेन्सी । भारतमा यात्रुवाहक बस पुलबाट नहरमा खस्दा ३७ जनाको मृत्यु भएकाे छ ।  मध्यप्रदेशस्थित सीधी जिल्लाको सतना गाउँनजिकै बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको हाे ।

भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बस पुलबाट नहरमा खसेको हो । मंगलबार बिहान भएको यो घटनामा अहिलेसम्म सातजनाको उद्धार गरिएको छ । उक्त बसमा कति यात्रु थिए भन्ने अहिलेसम्म यकिन भएको छैन । अहिलेसम्म ३७ जनाको शव निकालिएको छ । अन्य मानिसको खोजी कार्य जारी रहेको छ ।

जानकारहरुले बस अनियन्त्रित भएकाले दुर्घटना भएको हुन सक्ने बताएका छन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्य जारी राखिएको बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बस नहरमा खसेपछि पूर्णरुपमा डुबेको थियो । नहरको पानी खोलेपछि मात्र बसको केही भाग देखिएको थियो । मुख्यमन्त्री चौहानले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने बताएका छन् ।