१४ माघ, एजेन्सी। एक साताअघि पदभार सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक रूसी राष्ट्रपति भ्लादमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको पहिलो फोन संवादमा चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइटहाउसले जनाएको छ। ह्वाइटहाउसले कुराकानीका क्रममा बाइडेनले पुटिनसँग उनका आलोचक अलेक्सी नाभाल्नीको गिरफ्तारी, साइबर हमला र अफगानिस्तानमा अमेरिकी सैनिक मार्न रूसले तालिबानलाई दिएको प्रोत्साहनबारे कुरा उठाएको बताएको छ।
क्रेमलिनले भने कुराकानीका क्रममा बाइडेनले अमेरिका-रूस हतियार नियन्त्रण सम्झौताको म्याद थप्न प्रस्ताव गरेको कुरामा जोड दिएको छ। दुबैतिरबाट फरक-फरक कुरा बाहिर आए पनि दुई राष्ट्रपति अर्को महिना सकिन लागेको न्यू स्टार्ट आणवीक हतियार सम्झौताको म्याद थप्न तत्कालै काम थाल्न सहमत भएको देखिन्छ।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रूससँगका दुई हतियार सम्झौता खारेज गरिदिएको थियो भने न्यू स्टार्टलाई पनि नवीकरण नगर्ने पक्षमा थियो।
बाइडेनले अमेरिका-रूस सम्बन्धलाई थप बिग्रन नदिन न्यू स्टार्टलाई निरन्तरता दिन चाहेका हुन्। फोनमा बाइडेनले अमेरिका युक्रेनको सार्वभौमिकताको पक्षमा रहेको बताएको ह्वाइटहाउसले जनाएको छ। मस्कोले भने पूर्वी युक्रेनमा पृथकतावादीहरूलाई सघाउँदै आएको छ।
रूसी राष्ट्रपतिसँग फोनमा कुरा गर्नुअघि बाइडेनले युरोपेली मुलुक बेलायत, फ्रान्स र जर्मनीका नेताहरूसँग कुरा गरेको बताइएको छ।
‘राष्ट्रपति बाइडेनले अमेरिका र आफ्ना सहयात्री मुलुकको हितमा क्षति पुग्ने काम रूसले गरे त्यसको प्रतिवाद गर्ने कुरा प्रष्टसँग राख्नुभयो,’ ह्वाइटहाउसले भनेको छ।
क्रेमलिनले दुई नेताबीच ‘फ्र्यान्क र बिजनेसलाइक’ कुराकानी भएको बताएको छ। कूटनीति रूपमा यस्ता शब्दको प्रयोग तनावपूर्ण छलफलका लागि प्रयोग गरिन्छ।











