दसैंमा रातोभन्दा सेतो मासु खानु फाईदा

काठमाडौं: दसैंमा नयाँ कपडा लगाउने, मिठो खाने, मान्यजनको आशीर्वाद लिने परम्परा छ। खानेकुराको मामिलामा दसैं खसी काट्ने परम्परा नै हो भन्दा फरक पर्दैन। यो समयमा सक्नेले सिंगै खसी र नसक्नेले अर्को परिवारसँग मिलेर भए पनि खसी काटेर मासु जोहो गर्छन्।

मासुबाट १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ। त्यस्तै यसमा भिटामिन बी, जिंक, पोटासियमजस्ता तत्वहरू पनि पाउन सकिन्छ।

घरमा खसी काट्दा धेरै परिमाणमा मासु स्टोर गरेर राख्न नजान्दा मासु बिग्रन सक्छ र त्यो मासुले हाम्रो शरीरमा फाइदाको सट्टा बेफाइदा पुर्‍याउँछ। त्यस्तै राम्रै मासु पनि राम्रोसँग प्रयोग गर्न नजान्दा त्यसबाट पाउन सक्ने पौष्टिक तत्व प्राप्त गर्न सकिँदैन।

वैज्ञानिकहरुका अनुसार रातो र सेतो दुवै मासु प्रोटिनले भरिपूर्ण हुन्छ। सेतो मासुमाभन्दा रातो मासुमा खनिज पदार्थको मात्रा बढी हुन्छ। रातो मासुबाट प्राप्त हुने एमिलोइड नाम गरेको प्रोटिन दिमागमा जम्मा हुने हुँदा यसले स्नायुकोषलाई हानि गर्छ ।

सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो पदार्थ हुन्छ, यसले कोलेस्टेरोल हाई गर्छ। मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रातो मासु नदिनु नै उपयुक्त मानिन्छ।

रातो मासुको तुलनामा सेतो मासुमा चिल्लो पदार्थ कम हुन्छ। सेतो मासु आवश्यक मात्रामा खानु उपयुक्त मान्न सकिन्छ। बोसो र छालारहित मासु वयस्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ।

रातो मासु  

माछा र कुखुराबाहेक सबै खालका मासुलाई रातो मासुको रूपमा लिइन्छ । सामान्यतया स्तनधारी जनावरको मासुलाई रातो मासु भनिन्छ तर मासुका लागि काटिने जनावरको उमेर अनुसार पनि रातो र सेतो मासु भनिन्छ । बयस्क बङ्गुरको मासुलाई रातो मासु भनिन्छ भने कम उमेरको बङ्गुरको मासुलाई सेतो मासु भनिन्छ । रातो मासु हुने पशुमाहरूमा खसी बोका, भेडा बाख्रा, भैँसी राँगा पर्छन भने पन्छीमा हाँस, कोयली, परेवा, सुतुर्मुर्ग  तथा जङ्गली जनावरहरू (मृग, हरिण आदि) हुन् ।

मासुमा मायोग्लोबिनको प्रतिशतले पनि रातो मासु र सेतो मासुको निर्धारण गर्छ । मायोग्लोबिनको प्रतिशत जति जति कम भयो, त्यस मासुलाई सेतो मासु र जति जति बढी भयो, त्यस मासुलाई रातो मासु भनिन्छ ।

सेतो मासु  

सामान्यतया मासु पकाउनुभन्दा अघि वा पछि सेतो देखिन्छ भने त्यस्तो मासुलाई सेतो मासु भनिन्छ । मासुमा हुने मायोग्लोबिनले नै रातो मासु  वा सेतो मासुको निर्धारण गर्छ । सेतो मासुमा मायोग्लोबिन एकदम न्यून मात्रामा हुन्छ । खासगरी कुुखुरा, टर्की र माछाको मासुलाई भनिन्छ । अमेरिकी कृषि विभागका अनुसार ६५ प्रतिशतभन्दा कम मायोग्लोबिन  भएको बङ्गुरको मासुलाई सेतो मासुअन्तर्गत राखेको पाइन्छ ।

यस्ता व्यक्तिले मासु नखानु

रगतमा लिपिड प्रोफाइलमा बढी कोलेस्ट्रोल भएको, मुटु रोगी, युरिक एसिड र ब्लड प्रेसर उच्च भएको व्यक्तिले रातो मासु खानु स्वास्थ्यका दृष्टिले उपयुक्त हुँदैन । यस्ता समस्या भएका व्यक्तिले रातो मासु नखाँदा नै राम्रो हुन्छ ।

रातो मासुमा पाइने पोषक तत्व

फलाम, प्रोटिन, खनिज पदार्थ, जिङ्क र फस्फोरस तथा भिटामिन, लिपोइक एसिडको मुख्य स्रोतका रूपमा रातो मासुलाई लिइन्छ । एक अध्ययनअनुसार दैनिक रातो मासु खाँदा क्यान्सर र मुटु रोग हुने जोखिम १३ प्रतिशतले वृद्धि हुन्छ ।

मासु कति खाने  

बाँच्नकै लागि चाहिँ मासुको आवश्यकता पर्दैन । मासु सेवन गर्नेभन्दा साकाहारी खाना खाने व्यक्ति स्वस्थ्य रहन्छन् । मासु प्रोटिनको प्रमुख स्रोत हो । एउटा वयस्क व्यक्तिलाई शारीरिक तौलका दरले दैनिक ०.८ ग्राम प्रोटिनप्रति के.जी. आवश्यक पर्छ । एउटा महिलालाई दैनिक ४६ ग्राम र पुरुषलाई ५६ ग्राम प्रोटिन आवश्यक पर्छ । प्रतिव्यक्ति प्रतिदिन कति मासु आवश्यक पर्छ भन्ने कुरा उसको शारीरिक अवस्थामा भरपर्छ । दुब्लो वा कमजोर वा शारीरिक तन्दुरुस्तीका लागि दैनिक ०.६५ ग्राम प्रतिके.जी. शारीरिक तौलको आधारमा र शारीरिक तौल बढाउनका लागि दैनिक १ ग्राम प्रतिके.जी. शारीरिक तौलका आधारमा मासु आवश्यक पर्छ । यसकारण एउटा ६८ के.जी. शारीरिक तौल भएको मानिसलाई प्रतिदिन ९७.५ ग्राम मासु आवश्यक पर्छ ।

[sidebar name="button post"]