नृत्य साधनामा प्रेम श्रेष्ठ : नेपाली साँस्कृतिक नृत्यलाई विश्वमा चिनाउने प्रयासमा

  • 145
  •  
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares

समिता श्रेष्ठ

प्रेम श्रेष्ठको लागि नृत्य साधना हो । उहाँ १८ बर्षदेखि नृत्यमा लाग्नु भएको हो । र अहिलेसम्म पनि यसैलाई निरन्तरता दिंदै आउनुभएको छ । नेपाली सांस्कृतिक सबैप्रकारका नृत्य सिक्दै गाउँ गाउँ र टोल टोलमा गएर सिकाउने उहाँको सपना छ । त्यस्तै विश्व सामु नेपाली सांस्कृतिक नृत्य चिनाउने उहाँको लक्ष्य छ ।

नृत्य यात्रा

प्रेम श्रेष्ठ २०२९ साल भदौमा काठमाण्डौको जोरपाटीमा जन्मनुभएको हो । हाल उहाँको परिवार आमाबुवा, श्रीमती, छोरा र छोरी गरि ६ जना हुनुहुन्छ । उहाँले प्लटु सम्म चामुण्डा माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो । उहाँले आफ्नो बाल्यकाल खेतिपाती, गाईबस्तु चराउँदै र अध्ययन गर्दै बिताउनुभयो । उहाँको बाल्यकालदेखिको रुची संगीत र नृत्यमा थियो ।

हाल उहाँ नृत्य प्रशिक्षकको रुपमा काम गर्दै हुनुहुन्छ । शिखर छहारी सांस्कृतिक कला केन्द्रको संस्थापक उपाध्यक्ष पनि हुनुहुन्छ । श्रेष्ठ भनुहुन्छ,‘म १८ बर्षदेखि नृत्य पेशामा लागेको हो । मेरो रुची नै नृत्य र संगीतमा थियो । तर प्राथमिकतामा नृत्य लाई राखेर अगाडि बढें ।’ २०४७ सालमा एसएलसी सकेर खाली समयको सदुपयोग र रमाइलोको लागि २०४८ सालदेखि उहाँले नृत्य सिक्न थाल्नुभयो । पछि त्यसैलाई ब्यवसायको रुपमा अगाडि बढाउनुभयो ।

शिखर छहारी कला केन्द्र

शिखर छहारी कला केन्द्र सामाजिक सँस्था हो । यो संस्थाको स्थापना श्रेष्ठले साथी अरुण घिमिरेसँग मिलेर २०४१/२०४२ साल तिर नै गर्नुभयो । तर दर्ता गरेको भने ८/१० बर्ष मात्रै भयो । अहिले केन्द्रमा धेरै जना जोडिएर काम गर्नुभएको छ । यो कला केन्द्रमा हाल अध्यक्षको रुपमा कल्पना राजचल हुनुहुन्छ ।

‘हाम्रो टिम सबै जना मिलेर लगभग १५/२० बर्ष देखि यो संस्था चलाउँदै आइरहेका छौ ।’श्रेष्ठ भन्नुहुन्छ,‘यो संस्था स्थापना गर्नको लागि प्रेरणाको स्रोत हामी आफै हौँ । सुरुका दिनमा हामी साथीहरू मिलेर स्थापना गर्यौं । पछि हाम्रो कला केन्द्रलाई थुप्रै कलेज, स्कुलहरु, संघसंस्थाहरुले साथ र सहयोग गर्नुभयो ।’

यो संस्थाले नृत्यकलाको प्रशिक्षण दिनुका साथै सामाजिक कार्यहरु पनि गर्दै आएको छ । जस्तै अपाङ्गता भएका, दिनदुखी र समस्यामा परेकाहरुको लागि सांस्कृतिक कार्यक्रमहरु गरेर सहयोग संकलन गरि पीडितलाई दिने काम पनि हुन्छ । सांस्कृतिक कला केन्द्रबाट अपाङ्गता भएका, किड्नी समस्या भएका, ब्रेनमा ब्लड जम्मेका, क्यान्सर भएका एवं अन्य विभिन्न आर्थिक समस्याले गर्दा अस्पताल पुग्न समस्या भएका ब्यक्तिहरु, संस्था भित्रका र बाहिरका दुबैलाई विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै सहयोग संकलन गरि साथ र सहयोग दिने गरिएको छ ।

संघर्षका दिन

श्रेष्ठ न्यू बुद्ध प्रकाश स्कुलबाट प्रशिक्षकको रुपमा आवद्ध हुनुभयो । विगतका संघर्षका दिन बारे सम्झदै उहाँ भनुहुन्छ,‘मैले साधना कला केन्द्रमा रमाइलोको लागि नृत्य प्रशिक्षण लिन जान्थें । तर त्यो बेला समाजले हेर्ने दृष्टिकोण नृत्य प्रती एकदमै नराम्रो थियो । नाच्ने मान्छे भनेर होच्याउने काम गरिन्थ्यो । घर परिवारले पनि के नृत्य सिक्न लागेको यो नृत्यले के नै हुन्छ भनेर निराश बनाउने काम हुन्थ्यो ।

‘हामीले नगरे कसले गर्ने भन्ने साेंचका साथ म लगायत मेरो २/३ जना साथीहरू मिलेर नृत्यमा नै केही गर्न पर्छ भनेर लाग्यौं । अहिले सबैको साथ र सहयोग छ । समाजको सोंचमा परिवर्तन आएको छ । अहिले प्रेम भाई राम्रो काम गर्यौ भन्ने धेरै हुनुहुन्छ । अहिले नृत्य स्वस्थ जिवनको लागि पनि आवश्यक कुरा हो भनेर सबैले बुझ्नु भएको छ । अहिले स्कुल, कलेजहरुमा पनि नृत्य प्रशिक्षण अनिवार्य रुपमा जस्तै राख्न थालिएको छ ।’

श्रेष्ठले नृत्य सिकेको ४/५ महिना पछाडि न्यू बुद्ध प्रकाश बोर्डिङ ईङ्लिस स्कुलमा प्रकाश लामा सरले मौका दिएको उहाँ सम्झनुहुन्छ । नृत्य शिक्षणमा आवद्ध भएर काम गर्न थालेको हो । हाल यो विद्यालय शंखरापुर हस्पिटलको साईडमा छ । प्रकाश लामा सर जो मेरो साथी हुनुहुन्छ । उहाँले प्रेम सर अब हजुरले मेरो स्कुल नृत्यको प्रशिक्षण दिनु पर्छ भनेर बोलाउनु भयो । मैले धेरै सिकेको छैन सक्दिन होला भने कुरा गर्दा उहाँले सक्नु हुन्छ भनेर सिकाउन पर्छ भन्नुभयो र मैले त्यो स्कुलबाट नृत्य प्रशिक्षक भएर काम गर्न सुरु गरें ।’

हालसम्म ४०/५० वटा स्कुलहरुमा नृत्य प्रशिक्षण

न्यू बुद्ध स्कुलपछि उहाँले जोरपाटीका लगभग पुराना सबै स्कुलमा काम गर्ने मौका पाउनुभयो । लगभग ४०/५० वटा स्कुलमा काम गरे उहाँ बताउनुहुन्छ । अहिले उहाँले न्यू बुद्ध प्रकाश बोर्डिङ ईङ्लिस स्कुल, साङ्गरीला पब्लिक ईङ्लिस स्कुल र जया मल्टिपल कलेजमा नृत्य प्रशिक्षकको रुपमा काम गर्नुहुन्छ । यो बाहेक उहाँको आफ्नै शिखर छहारी ड्रेस हायर सेन्टर पनि छ । सेन्टरमा चाहिँ नृत्यको लागि आवश्यक कपडाहरु भाडामा दिने गर्नुहुन्छ, यो काममा उहाँको श्रीमती पनि सहयोगी हुनुहुन्छ ।

आमा र जगतनाथ देवकोटा सरको प्रेरणा

नृत्य क्षेत्रमा लाग्न सुरुमा गाह्रो भयो । तर आमाले उहाँलाई निक्कै सपोर्ट गर्नुभयो । किनभने त्यो समयमा सबैले नृत्यलाई नराम्रो नजरले हेर्दै गर्दा पनि आमाले खर्च दिनुहुन्थ्यो । त्यस्तै मनकामना ईङ्लिस स्कुलका जगतनाथ देवकोटले पनि उहाँलाई प्रेरणा दिनुभयो । नृत्य छोड्न पर्ने आउँदा पनि जगतनाथ सरले हजुरले निकै मेहनत गरेर आजको स्थान सम्म आउनु भएको छ । यसरी छोड्न हुँदैन भनेर सम्झाउनुभयो । ‘यो क्षेत्रमा लाग्न हाम्रो पालोमा निक्कै गाह्रो थियो । तुलनात्मक हिसाबले अहिले निकै सजिलो छ ।

यो क्षेत्रमा लागेर भोकै बस्नु पर्ने स्थिति छैन । यो क्षेत्रमा लाग्न चाहनेहरुलाई पहिलाको जस्तो अप्ठ्यारो छैन । सबैले सपोर्ट गर्ने अवस्था छ । नयाँ पुस्ता लगनशील भएर, ईमानदार भएर लाग्नुपर्ने खाँचो छ ।’ उहाँ भन्नुहुन्छ,‘अहिले धेरै अवसर प्राप्त गर्न पनि सकिन्छ र कम्पिटिसनको जमाना भएकोले मेहेनत पनि धेरै नै गर्नुपर्छ । सिकेर, बुझेर र नृत्यलाई अझै माथी उठाउने हिसाबले यो क्षेत्रमा लाग्नु होला ।’

रमाइलो पल धेरै

नृत्य क्षेत्रमा काम गर्दा सबै पल नै रमाइलो नै छ । तर नराम्रो बिर्सन नसक्ने पल सुरुसुरुमा अवस्थामा समाजको हेराइ गलत हुन्थ्यो । सिकाउने ठाउँको अभाव थियो । यस्तै अनेक समस्याहरु आउने गथ्यो । ‘अहिले आफूले सिकाएका विद्यार्थीहरु देश बिदेशमा गएर हाम्रो संस्कृति झल्काउने नृत्य गरी देशलाई बिदेशमा चिनाउने काम गरेका छन् । निक्कै खुसी लाग्छ ।’

उहाँ भन्नुहुन्छ,‘यो नृत्य मेरो लागि साधना, जीवन जिउने आधार, मेरो सास र मुटु हो । यो नै सबै कुरा हो । पहिले र अहिलेको नृत्य प्रतिको सोंच र धारणमा निकै परिवर्तन आएको छ । अहिले नृत्यलाई सबैले राम्रो भन्ने गर्छन् । नृत्य गर्न पर्छ भनेर अभिभावकहरुले भन्ने गर्नुहुन्छ । नृत्य गरेर स्वस्थ रहन थेरापिस्ट र डाक्टरहरुले सल्लाह दिने गरेका छन् । तर पहिले नृत्य गर्दा नाच्ने मान्छे भन्दै जिस्काउने । अहिले हौसला र प्रेरणा दिने काम गरिन्छ । यो नै परिवर्तन हो ।’

नेपाली साँस्कृतिक नृत्यलाई विश्वमा चिनाउने सपना

श्रेष्ठको एउटा सपना छ, त्यो हो नेपाली साँस्कृतिक नृत्यलाई विश्वमा चिनाउने र यसैमा लागिपर्ने । ‘नेपालको साँस्कृतिक नृत्यहरु धेरै नै छन् । यो नृत्य बारे गाउँ गाउँ टोल टोलमा गएर सिकाउने र विश्वमा हाम्रो नृत्य लाई चिनाउने सपना छ । यसको लागि म लगायत मेरो अन्य नृत्य पेशामा आवद्ध सबैसँग कुराकानी भैरहेको छ ।

हरेक प्रदेशका ब्यक्तिहरु काठमाण्डौमा हुनुहुन्छ । त्यसैले यो सबै प्रदेशमा भएको नृत्य सिकेर, सिकाउने लक्ष्य रहेको छ । यसको लागि रोचक थापासँग कुरा भैरहेको छ । उहाँले गाउँठाउँमा गएर नृत्यको प्रशिक्षण लिने र दिने काम गरिरहनु भएको छ । अबको सपना नेपाली साँस्कृतिक नृत्यलाई विश्वमा चिनाउने छ । विश्वले नेपाली नृत्यलाई माया गरोस्, त्यसको लागि लागिरहेको छु ।’

निरन्तरता र सफलता

‘आफू १८ बर्ष हुँदा देखि नै नृत्य प्रशिक्षकको रुपमा काम गरेको र अहिले पनि यसै क्षेत्रमा निरन्तर रुपमा काम गरिरहेको छु । त्यसैले म आफ्नो कामदेखि निक्कै सन्तुष्ट छु । मेरो कामलाई सबैले माया गर्नु भएको छ । यहीँ नै मैले पाएको सफलता जस्तै लाग्छ । जीवन बुझ्दै र भोग्दै जाँदा नाटक जस्तै लाग्छ ।

हाम्रो जीवन जिउने क्रम नाटककी नृत्य र आँखा बन्द गर्ने क्षण नै अन्तिम अध्याय हो जस्तो लाग्छ । अन्त्यमा नृत्यमा लाग्नेहरु जो कोहिले आफ्नो देशको नृत्यलाई माया गर्नु र आफ्नो देशको नृत्यलाई विश्वमा चिनाउनु भन्न चाहन्छु ।’


  • 145
  •  
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares