अजय खत्री
भदौ ९, कागेश्वरी मनोहरा नगरपालिकामा अहिलेसम्म ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमा ६३ जना पुरुष र ३३ जना महिला रहेका छन् । भदौ ५ गते १ सय २६ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरि परिक्षणको लागि पठाएकोमा हिजो आएको रिपोर्टमा १ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । बाँकी २ जनाको रिपोर्ट अझै आएको छैन । वडा नम्बर ५ र ९ का एक÷एक जना महिला र वडा नम्बर ७ मा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो ।
हरेक हप्ताको दुई दिन स्वाव संकलन गदैं आएको नगरपालिकाले अहिलेसम्म २६ सय जनाको पीसीआर परिक्षण गरिसकेको छ । भदौ ८ गते सोमबार ९२ पुरुष र ५१ जना महिला गरी १ सय ४३ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।
उहाँका अनुसार वैशाख १ देखि साउन ७ गतेसम्म जम्मा १२ जना मात्र संक्रमित रहेको नगरमा साउन ७ पछि भने संक्रमितको संङख्या ८४ बढेर ९६ पुगेको हो । ३५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । अरु ६१ जना मध्ये १० जनाको आइसोलेसनमा र बाँकिको काठमाडांैका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । केहि संक्रमित होम आइसोलेसनमा छन् ।
कोरोना संक्रमित भेटिएपनि नगर भित्र अहिले त्यस्तो आत्तिनु पर्ने अवस्था नरहेको र स्रोतको कमि हुन नदिने, नागरिकले आफ्नो ठाउँबाट सजग भएर सरकारको आव्हानलाई पालना गरे पनि कोरोना रोकथाम हुने नगर प्रमुख थापाको भनाई छ ।
उहाँ भन्नुहुन्छ,‘नगरवासिले उपचारको कुनै चिन्ता लिनुपर्दैन, मात्र संक्रमणको सम्भावित जोखिमबाट बच्न सरकारको निर्देशन र निषेधाज्ञाको पालना गरिदिए पुग्छ ।’








