अजय खत्री
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ मा जनप्रतिनिधि चयन भएपछिको पहिलो वर्ष सडकको काम नै मुख्य प्राथमिकतामा पर्यो । त्यसपछि शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि प्राथमिकतामा परेका छन् । वडाको प्राथमिकतामा परेका विकास निर्माण र सेवाप्रवाहका कामहरु कसरी भैरहेका छन् ? यी विषयमा केन्द्रित रहेर कागेश्वरी खबरका सहकर्मी सुदर्शन धिमालले कुराकानी गर्नुभएको छ ।
तपाईं जनप्रतिनिधी भएपछि मुख्य प्राथमिकताका क्षेत्रहरु के हुन् ?
जनप्रतिनिधि भएपछिको सुरुवाती चरणमा नगरबाट वडा भित्रका सडकका खाल्डाखुल्डी पुर्न विनियोजित दस लाख रुपैयाँबाट बिग्रिएका सडकको मर्मतको काम ग¥याँै । त्यसपछिका दिनहरुमा नगरपालिकाको मातहतमा रहेर विभिन्न उपभोक्ता समितीको गठन गरेर सडक निर्माणका कामहरु ग¥यौँ ।
धेरै उपभोक्ता समितिका काम प्रभावकारी भएपनि केहिको काममा प्रश्न उठेकाले सडक बैंकको निर्माण गरि प्राथमिकताका सडक छुट्याएर टेन्डर प्रकृया मार्फत् निर्माणका काम अघि बढायौँ । नगरपालिकाबाट वडाभित्रको सहायक सडक निर्माणको लागि ६७ लाख बजेट विनियोजन भएको छ ।
तर तपाई हामी सबैले भोगेको कोरोना महामारीका कारण तत्काल बाटो निर्माण गर्न सकिएको छैन । बाटो निर्माण नभएकाले स्थानीयबासिन्दालाई दैनिक आवतजावतमा कठिनाई छ । त्यसैले चाडै निर्माणको काम सुरु गर्ने तयारीमा छौ ।
अहिलेसम्म काम चाहीँ के के भए ?
सडकको बारेमा मैले भनिहाले । खानेपानी अन्र्तगत एक घर एक धारा बनाउने अभियान पुरा भैसकेको छ । अब स्थानियबासिन्दालाई स्वस्थ पानी खुवाउने उद्देश्यका साथ वडा र नगरपालिका बिच समन्वय गरी फिल्टर प्लान्ट निर्माण गर्ने योजना छ ।
सडक र खानेपानीको क्षेत्रमा मात्र काम गर्दा शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्र ओझेलमा परेको हो ?
हामीले अति आवश्यक देखेर पहिलो प्राथमिकता सडकलाई दिएका हौ । शिक्षामा प्राथमिकता दिएर नै चाडै प्राविधिक शिक्षाको लागि अघि बढ्दैछौ । डिएलपीआइयू बाट चार कोठे प्राविधिक भवनको निर्माण कार्य अघि बढाउँदैछौ । प्राविधिक शिक्षाको भवन निर्माण भएपछि प्राविधिक शिक्षालय बनाउने तयारीमा जुटेका छौ र नगरपालिका सँगको समन्वयमा शिक्षकहरुको समतामुलक बाँडफाँड गर्ने तयारीमा छौ ।
अर्को स्वास्थ्यको क्षेत्रमा आलापोट हेल्थपोष्टले बर्थिङ सेन्टर, ल्याव लगाएतका सेवा प्रदान गर्दै आएको छ । अब चाडैं आलापोट हेल्थपोष्टलाई सुविधा सम्पन्न अस्पताल बनाउने योजनामा छौँ र स्वास्थ्य परिक्षण सिविर संचालन गर्ने योजनामा छौँ । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकका लागि निशुल्क ल्याव सेवा उपलब्ध गराउदै आएका छौ ।
वडामा अबको आवश्यकता र योजना के छन् ?
अहिले सम्म झण्डै तीन वर्षको समय सडक नै मुख्य प्राथमिकतामा राखेर काम ग¥यौ । अबका दिनमा युवा, बालबालिका, महिला र अशक्त व्यक्तिहरुका लागि काम अघि बढाउने योजना छ । त्यस्तै एक वडा एक खेलमैदान, पार्क, आलापोट स्वास्थ्य चौकी मार्फत् असाह्य वर्गका दिर्घरोगी व्यक्तिहरुका लागि निशुल्क औषधिको व्यवस्था गर्दैछौ ।
कोरोना महामारी नियन्त्रण तथा रोकथाममा वडाको भुमिका के छ ? अनि चलिरहेका योजनाहरुमा कस्तो असर पारेको छ ?
वडाबासीमा सचेतना जगाउन वडाबाट परिचालन गर्न सकिने सबै स्रोत साधनको परिचालन गरेका छौ । वडा नम्बर १, २ र ३ को सयुंक्त समिति निर्माण गरि प्रहरि, स्थानिय युवाहरु र समाजसेविहरुको सहयोगमा कोरोना रोकथामका लागि मिलेर काम गरेका छौ । आयोजनाका कामहरु त खासै हुन सकेका छैनन् ।
दुइओटा आयोजनाहरुको सम्झौता भए तर काम हुन सकेन । यसअघि संक्रमणको सुरुवाती चरणमा ज्यालादारी गरेर गुजारा चलाउनु पर्ने वर्गको लागि खाद्यान्नको व्यवस्था पनि गर्यौ । अब कोरोनाको महामारी कहिलेसम्म रहने हो यकिन छैन । जतिसक्छौ गरेका छौ । विकास निर्माणका काममा त यसैपनि प्रभाव परेको आम नागरिकलाई जानकारी छ ।
कोरोनाको मारमा परेका, विदेशबाट फर्केका र बेरोजगार युवाको रोजगारीका क्षेत्रमा केहि काम भएका छन् कि ?
युवा स्वरोजगार कार्यक्रम अन्तरगत वडाभित्रका युवाहरुका लागि तालिमको व्यवस्था ग¥यौ । महिला लक्षित जुत्ता बनाउने, कृष्टल माला बनाउने लगाएतका तालिम दियाँै जसका कारणबाट कतिपय महिलाहरुले व्यवसायिक रुपमा नै काम सुरु गर्नुभएको छ । आयमुलक र आत्मनिर्भर बनाउन विभिन्न युवा समुहहरु बनाएर बाख्र, गाई पालन गर्न अनुदानको व्यवस्था छ ।
यसबाट केहि युवाले काम पनि थालनी गरेका छन् । युवा प्रोत्साहनका लागि संयुक्त कृषि कार्यका लागि वडाको दस प्रतिशत बजेट छुट्याएका छौ । खालि जग्गा नरहोस् भन्ने उद्देश्यका साथ कृषि सामाग्रीहरु खरिद गर्न ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ ।
वडाका काम गरिरहँदा कतिको सहज या असहज अवस्था छ ?
वडामा आजका दिनसम्म सवै मिलेर काम गरिरहेका छौ । विपक्षी दल, स्थानिय समाज सेवि सवैको साथ सहयोग मिलेकाले कार्यसम्पादनमा असहजता भएको छैन् । पाटीगत भन्दापनि विकासमा एकजुट भएर अघि बढ्दै आइरहेका छौ । त्यस्तो असहज छैन ।
तपाईंहरुलाई पक्कै असहज छैन मिल्नुहुन्छ, मिलाउनुहुन्छ त्यो सँगै वडाले जनतामा दिनुपर्ने सेवा पूर्णरुपमा दिन सकेको छ ?
स्थानिय तह बनिसकेपछि जति जनतामा उत्साह थियो त्यहि अनुसारका सेवाहरु त हामिले प्रवाह गर्न सकिरहेका छैनौं, हामीले सबै चुस्त दुरुस्त गरेका छौ म भन्दिन । त्यसो हुनुमा जनशक्ति अभाव र जिम्मेवारी अभाव लगाएतका कुराहरु छन् । अहिलेको अवस्थामा सरकार द्धारा प्रदान गरिने हरेक सुविधाको पहिलो प्रदायक निकाय भनेको वडा नै हो । हामिले नसक्ने कामको उचित परामर्श दिदै आएका छौ । जनप्रतिनिधि आइसकेपछि जनताले सहज रुपमा सेवा प्राप्त गर्न पाएका छन् भन्ने अनुभुति भने हामीले गराउन सक्ने बनाएका छौं ।
जनगुनासाहरुको चाहीँ कसरि सम्वोधन गर्दै आउनुभएको छ नि ?
जनताप्रति उत्तरदायी बन्दै हामीले कतिपय समयमा कार्यालय समय नभनेर जनताहरुको आवश्यकता पुरा गर्नेदेखि हाम्रा सेवाहरुलाइ सकेसम्म छिटो छरितो बनाउँदै लगेका छौ । सेवा लिनेहरुको अपेक्षा बढी हुन्छ, त्यसैले बढि जनताबाट प्राप्त गरेका गुनासा भनेको करको दर बढी भएको र नक्सापास लगाएतका कामहरु झन् झन् टिलो भएको भन्ने हो । यी समस्या समाधानका लागि नगरले प्रत्येक वडामा इन्जिनियरको व्यवस्था गरेको छ । करको सवालमा आफैपनि त्यती सन्तुष्ट छैन् । अरु धेरै के भनौ ।
करबारे तपाईं नै असंतुष्ट, उसो भए तपाईंले गरेका काममा सबैभन्दा सन्तुष्टी मिलेको के भन्नुहुन्छ ?
एक घर एक धाराको काम सम्पन्न भएको । पानीका लागि वडाबासीलाइ सहज हुने गरी काम गर्न सकेकोमा सन्तुष्ट छु ।
अन्त्यमा के भन्नुहुन्छ, अबको योजना के छ ?
मैले यो कार्यकाल चलिरहँदा जति काम गर्न सक्छु गर्छु । सकेसम्म वडाबासीलाई खुसी नै बनाउने मेरो प्रयत्न रहन्छ । त्यसपछिका दिनमा अरु साथिहरुलाई पनि काम गर्ने अवसर दिने र आफ्ना अनुभवले सहयोग गर्ने चाहना छ र आजका दिनसम्म मलाइ साथ सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्छु ।