अनिता धिताल
६ साउन, काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिकामा नगर प्रहरीको सक्रियतामा बाढिपहिरो नियन्त्रणको काम हुँदै आएको छ । नगरपालिकाका नगर प्रहरीहरु विपत् व्यवस्थापनको काममा खटिएका हुन्।
एघार जनाकाे नगर प्रहरीकाे समुहले विपत् व्यवस्थापनकाे कार्य गदै आएका छन् । आइतबारदेखिकाे अविरल वर्षाको कारणले कागेश्वरी मनाेहराका विभिन्न ठाउँमा आएको भेलबाढी र पहिराे तथा सम्भावित जोखिमयुक्त क्षेत्रहरु पहिचान गरी त्यसको जानकारी नगरमा गराएर जोखिम न्युनिकरणमा खटिएकाे नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयाे ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा ४/५ वटा घर जोखिममा परेको र ती मध्ये श्याम कार्कीको घर पुर्णरुपमा क्षति भएको छ । क्षतिबारे नगर प्रहरी मार्फत नगरपालीकालाई जानकारी गराइ क्षति भएको ठाउँमा माटो भर्ने, प्लास्टिक विछ्याउने काम गरेको नगर प्रहरी प्रमुख सुवेन कार्कीले बताउनुभयाे।
त्यस्तै वडा नम्बर ६ का १०/१५ घरमा क्षति भएकाले मुख्य प्राथमिकतामा राखी घरहरुको आँगनमा प्लास्टिक विछ्याउने काम भएकाे छ । साथै वडा नम्बर ४ मा वर्षाको कारण पहिरो गएको स्थानमा प्लास्टिक विछ्याउने, नहर बनाउने र वडा नम्बर ९ मा घर नै बग्ने हिसाबले चर्किएको ठाउँमा नगर प्रहरी खटिएको र अवलोकन गरी त्यहाँ माटो भर्ने र प्लास्टिक विछ्याउने काम पनि गरेको उहाँले बताउनुभयाे ।