काठमाडौँका तीन वटा नगरपालिकामा जग्गा एकीकरण गरी व्यवस्थित बस्ती विकास गरिने

काठमाडौं । काठमाडौँका तीन वटा नगरपालिकामा जग्गा एकीकरण गरी व्यवस्थित बस्ती विकास गरिने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नम्बर ९ भित्रको झण्डै २४ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनी जग्गा एकीकरण गर्न लागिएको वडा नम्बर २ का  वडा वडाध्यक्ष सुदर्सन धिमालले जानकारी दिए ।

आयोजना सञ्चालनका लागि उपभोक्ता समिति, आवश्यकता अनुसार उपसमिति गठन गर्ने, आयोजना क्षेत्रभित्रका सबै कित्ता जग्गालाई एकीकरण गर्ने, आयोजना क्षेत्रमा विकसित घडेरी निर्माण गर्न प्रचलित कानूनबमोजिम ठेक्कामा दिने काम अघि बढाउन लागिएको हो ।

आयोजना सञ्चालन गर्न तीनवटै नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आयोजना सञ्चालन हुने वडाका वडाध्यक्ष, तीनवटै नगरपालिकाका कानूनी सल्लाहकार सदस्य रहने गरी २० सदस्यीय समिति गठन गरिएको छ । समिति संयोजक कागेश्वरी मनोहराका नगरप्रमुख थापा तोकिनु भएको छ ।

जग्गा एकीकरण गर्दा जग्गाधनीको ३५ प्रतिशत जग्गा काटिने भएको छ । त्यसमध्ये २० प्रतिशत सडक, पाँच प्रतिशत खुला स्थानका लागि र १० प्रतिशत जग्गा बेचेर आयोजनालाई व्यवस्थित गर्ने सोच अघि सारिएको छ ।

आयोजना सञ्चालन गर्न आवश्यक पर्ने बजेटको ५० प्रतिशत कागेश्वरी मनोहरा, ३५ प्रतिशत गोकर्णेश्वर र १५ प्रतिशत शङ्खरापुर नगरपालिकाले व्यहोर्ने कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

एकीकरण गरिने जग्गामध्ये १६ हजार रोपनी व्यक्तिको पर्ने प्रारम्भिक अनुमान समितिले गरेको छ । दुई हजार रोपनी जग्गा भने सार्वजनिक, पर्ती, नदी, वन क्षेत्रको पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यसका लागि पूर्वी काठमाडौँ जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।