अनिता धिताल
काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकामा १० जना संक्रमितसँगै क्वारेन्टाइनमा रहेकाहरुको उपचारमा ८७ लाख रुपैयाँ खर्च भएको छ ।
अहिलेसम्म कागेश्वरीमा दुई हजार बढीको कोरोना परीक्षण गरिएको छ । १ हजार १ सय ५४ जनाको आरडीटी र ९ सय ६५ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा ३५ जनाको आरडीटी पोजेटिभ आयो । उनीहरुमा पनि थप परीक्षण गर्दा १० जनाको मात्रै पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आयो ।

उनीहरुलाई निःशुल्क उपचारका लागि नगरपालिकाले खर्च गरेको हो । तीमध्ये ८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन भने २ जनाको उपचार भइरहेको छ । आइसोलेसनमा उपचार भइरहेकाहरुको अवस्था सामान्य बन्दै गएको छ ।
पेप्सीकोलामा रहेको सनसिटी हाउजिङबाट शुरु भएको कोरोना गागल र डाँछीमा पनि देखिएको छ । संक्रमण फैलिन थालेपछि नगरपालिकाले मूलपानी, थली, गोठाटार र आलापोटमा क्वारेन्टाइन निर्माण गरेर शंका गरिएका र बाहिरबाट आएकालाई राखिरहेको छ । क्वारेन्टाइनमा ११८ जना राखियो । जसमा सबैभन्दा धेरै पुरुष ९१ जना थिए ।
नगरपालिकाका मेयर कृष्ष्णहरि थापाले क्वारेन्टाइमा बसेकाहरु, संक्रमित भएकाहरु, आइसोलेसनमा राखिएका सबैलाई उपचार गर्दा अहिलेसम्म ८७ लाख खर्च भएको बताए । कोरोना संक्रमणको अवस्था नियन्त्रण भइ नसकेकाले खर्च अझै बढ्न सक्ने उनको भनाई छ ।