‘म हृदयदेखि नै अशोक खड्कालाई जिताउन आग्रह गर्दछु’

(आउँदो मंसिर ४ गतेको चुनावका लागि उम्मेदवारको प्रचारप्रसार र मतदाताको दृष्टिकोण बाहिर आउन थालेको छ । काठमाडौँ क्षेत्र नं। २ मा पनि चुनावको चहलपहल बढेकै छ । हामी यसपटकको प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वारहरुसँगै मतदाताको चाहना कस्तो छ भनेर उनीहरूका विचार क्रमशः सार्वजनिक गरिरहेका छौँ । यस क्रममा तेक्वान्दो कोच टोनिल कर्माचार्यको विचार प्रस्तुत गरेका छौँ । कागेश्वरी खबर डटकममा अरू उम्मेदवार र मतदाताको पनि विचार क्रमशः प्रकाशित हुनेछ – सम्पादक)

टोनिल कर्माचार्य/तेक्वान्दो कोच

लौरो अभियानबाट उम्मेदवार बनेका अशोक खड्का समाजसेवी, अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री हुन् । उनको नाम नै काफी छ । समाजमा विगतका दिनदेखि आपत् बिपतको समयमा गाउँदेखि नगरपालिकासम्म राहत र सक्दो सहयोग गर्दै आउनु भएको छ ।

उहाँमा नकारात्मक सोच अहिलेसम्म देखेको छैन । उहाँ जस्तो सक्षम मान्छे अहिले प्रदेशसभामा चुनाव चिन्ह लौरो लिएर उठ्नु भएको छ। सबै जनतालाई म हृदयदेखि नै उहाँलाई जिताउन आग्रह गर्दछु ।

अहिलेसम्म कुनै पनि राजनीति दलका नेताले यस क्षेत्रमा विकास गरेका छैनन् । अब कुनै पनि पार्टीबाट आस गर्ने ठाउँ छैन । अब पनि हामी पार्टीले गर्ला, नेताले गर्ला भनेर आस गरेर बस्न थाल्यौँ भने हाम्रो विकास कहिल्यै पनि हुँदैन ।

त्यसैले अब स्वतन्त्र उम्मेदवार जस्ता देखिने लौरो अभियानका अशोक खड्कालाई भोट दिनुपर्छ । अहिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कुनै पनि दबाब, प्रभाव र कसैको आदेश पालना नगरी आफ्नो काम फटाफट गरिरहेका छन् ।

त्यस्तै नयाँ भिजन र काम गर्न सक्ने क्षमता भएका स्वतन्त्र उम्मेदवार अशोक खड्कालाई विजयी गराउन काठमाडौँ क्षेत्र नं. २ (ख)का सबै मतदातालाई अपिल गर्दछु ।

[sidebar name="button post"]