(आउँदो मंसिर ४ गतेको चुनावका लागि उम्मेदवारको प्रचारप्रसार र मतदाताको दृष्टिकोण बाहिर आउन थालेको छ । काठमाडौँ क्षेत्र नं। २ मा पनि चुनावको चहलपहल बढेकै छ । हामी यसपटकको प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वारहरुसँगै मतदाताको चाहना कस्तो छ भनेर उनीहरूका विचार क्रमशः सार्वजनिक गरिरहेका छौँ । यस क्रममा स्थानीय व्यवसायी एकनाथ सुवेदीको विचार प्रस्तुत गरेका छौँ । कागेश्वरी खबर डटकममा अरू उम्मेदवार र मतदाताको पनि विचार क्रमशः प्रकाशित हुनेछ – सम्पादक)
एकनाथ सुवेदी/व्यापारी
मेरो घर खोटाङ हलेसी हो । हाल म काठमाडौँ क्षेत्र नं. २ मा स्थायी बसोबास गर्दै आएको छु । यहि क्षेत्रबाट मदन भण्डारी, मनमोहन अधिकारी, विद्यादेवी भण्डारी र माधव कुमार नेपालले चुनाव जितेर जानुभयो । तर कसैले पनि गतिलो काम गर्नु भएन । कुनै विकासको काम गर्नु भएन ।
त्यस्तै अहिले कुनै राजनीति दलबाट पाहुना नेता र स्वतन्त्र उम्मेदवार आएका छन् । जो घर गाउँका युवा नेता हुनु हुन्छ । कुनै राजनीतिकमा अलमल नभई युवा नेता बौद्धिक नेता प्रकाश अधिकारीलाई भोट दिई आफ्नो मतको कदर गर्न युवाहरूको आह्वान छ ।
पछिल्लो समय धेरै जना राजनीतिक दलबाट वाक्क दिक्क भएका छन् । राजनीतिक दललाई भोट नदिई प्रकाश अधिकारीलाई किन भोट दिने ? भन्ने प्रश्न छ ।
हामीले हाम्रा बाउ बाजेदेखि नै राजनीतिक दललाई भोट हाल्दै आएका छौँ । अब राजनीतिबाट मूर्तिबाहेक अरू कुराको आस र कल्पना गर्न सकिँदैन । उनीहरूसँग अब चुनावी एजेन्डा र विकासे योजनाको कुनै सार छैन ।
मेचीको मान्छे ल्याएर महाकाली लडाएको छ । जोलाई वस्तुगत स्थितिको बारेमा थाहा छैन । तसर्थ अब घर आँगनकै मान्छे चुन्नुपर्छ । त्यस कारण स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीसँग सबै छ । उहाँ सत्य र निष्ठावान् भएर काम गर्नुहुन्छ भन्ने विश्वास छ ।
उहाँसँग कुनै स्वार्थ छैन । मेरो पनि उहाँसँग कुनै स्वार्थ छैन । हामीले त्यो आस गर्नु पनि हुँदैन । तर अब स्वतन्त्र युवाहरूलाई भोट हाल्ने बेला आयो । त्यस कारण स्वतन्त्र उम्मेदवार प्रकाश आधिकारीलाई जिताऔँ भन्ने मेरो आह्वान छ ।
अहिले स्वतन्त्रको लहर छ । स्वतन्त्रको नामले चुनाव जितिन्छ भन्ने युवा नेताहरूमा परेको हुन सक्छ । तर त्यो मात्रै पनि होइन । बुढा नेताहरूबाट विकास मात्रै होइन, राजनीतिक संस्कार पनि भएन । त्यसैले स्वतन्त्र युवाहरूको खाँचो परेको हो ।
आफ्नै गाउँ ठाउँको विकासका लागि स्थानीय व्यक्ति चाहिन्छ । सबै कुरा बुझेको व्यक्ति चाहिन्छ । सबै स्वतन्त्र राम्रा छन् भन्ने होइन । कतिपय स्वतन्त्र युवा राम्रा छन् । आफ्नै ठाउँमा राम्रो परिचय बनाएका व्यक्ति छन् ।
त्यो हिसाबले प्रकाश अधिकारी अहिलेका लागि सबैभन्दा उपयुक्त उम्मेदवार हुन् । यहि ठाउँमा जन्मे यहि ठाउँ हुर्केका प्रकाश जस्तो असल र इमानदार स्वतन्त्रभित्र कमै होलान् ।
विगतमा पूर्वप्रधानमन्त्री भएको व्यक्तिलाई अनि राष्ट्रपतिलाई जिताउँदा हामीले केही विकास पाएनौँ । अब स्थानीय स्वतन्त्र युवालाई जिताउनुपर्छ । त्यसका लागि प्रकाश अधिकारीलाई गोलाकारभित्रको ‘क्यामेरा’ चुनाव चिन्हमा भोट हाल्न म सबैलाई आग्रह गर्न चाहन्छु ।








