(आउँदो मंसिर ४ गतेको चुनावका लागि उम्मेदवारको प्रचारप्रसार र मतदाताको दृष्टिकोण बाहिर आउन थालेको छ । काठमाडौँ क्षेत्र नं। २ मा पनि चुनावको चहलपहल बढेकै छ । हामी यसपटकको प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुसँगै मतदाताको चाहना कस्तो छ भनेर उनीहरुका विचार क्रमशः सार्वजनिक गरिरहेका छौँ । यस क्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाको राखेका छौँ । कागेश्वरीखबर डटकममा अरू उम्मेदवार र मतदाताको पनि विचार क्रमशः प्रकाशित हुनेछ – सम्पादक)
प्रकाश शमशेर राणा: अध्यक्ष, नेपाल तेक्वान्दो संघ
म नेपाल तेक्वान्दो संघको केन्द्रित अध्यक्ष पनि हुँ । यो हैसियतले भन्दै छु, तेक्वान्दोको लागि खुसीको खबर छ । काठमाडौँ क्षेत्र नम्बर २ ख बाट अशोक खड्काले प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जो खेल क्षेत्रका गुरु पनि हुन् । तेक्वान्दो खेलेर देश विदेशमा चिनिनु भएको छ । अहिले तेक्वान्दोमा पनि प्रदेशको महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । उहाँ जस्तो खेलाडी अहिले राजनीतिक मैदानमा उत्रिएका छन् ।
उहाँले जसरी खेलमा आफ्नो टिमलाई एकताबद्ध गरेर अघि बढ्नु भएको थियो । देश विदेशमा विभिन्न पदक जित्नु भएको थियो । आफू थुप्रै पटक लडेर घाइते भएर पनि देशलाई जिताउनु भएको थियो ।
त्यसरी उहाँ राजनीतिमा सबैलाई एकताबद्ध गरेर अघि बढ्नु हुन्छ भने मलाई पूर्ण विश्वास छ । यो उहाँको सोच र काम गर्ने तौर तरिकाले उहाँले चुनाव जितेपछि काठमाडौँ क्षेत्र नं. २ (ख) क्षेत्रमा धेरै विकासको काम पनि गर्न सक्नुहुन्छ ।
अहिलेसम्मका नेताहरूले खाली आफ्नो स्वार्थको हिसाबकिताब गरे । अरूलाई चासो नै दिएनन् । भोट दिने मतदातासँग पनि फर्केर पनि केही सोधेनन् । त्यस्तो नेताहरू जिताएर अब के गर्नुहुन्छ ? साँच्चिकै आफ्नो ठाउँको माया त आफ्नै नजिककोलाई नै हुन्छ नि ।
आफ्नै वरपरको विकास गर्ने मान्छेलाई पो भोट दिनुपर्छ । ता कि भोलि उसले विकास गरेन भने पनि प्रश्न गर्न पाइन्छ । आफूले चिनेको, जानेको सुनेको र देखेको व्यक्तिलाई पो भोट हाल्ने होला नि । जो पायो, उसैलाई भोट दिएर देश कसरी विकास हुन्छ ? आफ्नो ठाउँ कसरी विकास हुन्छ ?
अहिले प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका अशोक खड्काले धेरै चोटि नेपाललाई विश्वमाझ चिनाउने काम गर्नुभयो । अब उहाँ राजनीतिमा आउनु भएको छ । राजनीतिबाट आफ्नो गाउँ ठाउँ चिनाउनुहुन्छ । विकासका लागि काम गर्नुहुन्छ । विकासे काममा अघि सर्नुहुन्छ । यसका लागि पनि यसपटकको चुनावमा उहाँलाई भोट हाल्नुपर्छ ।








