२६ पुष, गलकोट । खानेपानीको समस्या सकस बेहोर्न बाध्य धम्जाका दुई सय बढी घरमा खानेपानी पु¥याइएको छ । गण्डकी प्रदेश सरकारले तीन वर्ष अघिदेखि निर्माण शुरु गरेको खानेपानी आयोजना अन्तर्गत बागलुङ जिल्लाको काठेखाला गाउँपालिका–३ धम्जामा सञ्चालित ‘एक घर एक धारा’ अभियानका क्रममा २३४ घरमा धारा जडान गरिएको छ ।
खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासीलाई घरमै खानेपानीको धारा आएपछि दङ्ग परेका छन् । खानेपानीको दुःख भएको धम्जामा घर–घरमा खानेपानी पुग्दा विकासको नयाँ अनुभूति भएको धम्जा माझकटेराकी रिमाकुमारी थापाले बताउनुभयो । “३५ वर्ष अघि लुथ्रनले बनाएको सामुदायिक धारा थिए, पाँच÷सात वर्ष राम्रै भयो” उहाँले भन्नुभयो “पछि मुहान सुक्दै गए, आयोजना मर्मत भएन, खानेपानी आउनै छोड्यो, धारामा घण्टौंलाइन लाग्नुपर्ने अवस्था थियो, अहिले घरमै खानेपानीको धारा आउँदा दङ्ग परेका छौं ।”
धम्जा खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गतका १० उपआयोजना सम्पन्न भएको गण्डकी प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । पहिला सामुदायिक धारामा घण्टौंलाइन लाग्ने गरेको, पानी भर्ने पालो नपाउदा रित्तो गाग्री फर्कनुपर्ने अवस्था रहेकोमा अहिले घरमै खानेपानी आउदा समयकोसमेत बचत भएको उपभोक्त गङ्गा खड्काले जानकारी दिनुभयो ।
लगातार तीन वर्षसम्म आयोजनाले काम गर्दा २३४ घरमा एक घर, एक धारा पु¥याइएको र ४० घरमा खानेपानी पु¥याउने गरी काम भइरहेको समितिका अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिनुभयो । “उपभोक्ता समितिमार्फत ठेक्का प्रक्रियाबाट धारा निर्माण भएको हो, धम्जाका १४ वटा मुहानबाट घर–घरमा खानेपानी पु¥याइएको छ” उहाँले भन्नुभयो, “खानेपानी घरमै आएपछि यहाँका जनताको समय र दुःख दुबै बचत भएको छ ।” दुःखले खाँदै आइरहेको पानी पनि माटेरबाटोका कारण मुहान भासिदै गएको र मर्मत हुन नसक्दा पछिल्लो एक दशकदेखि खानेपानीको धम्जामा खानेपानीको चरम सङ्कट थियो ।
काठेखाला गाउँपालिका–३ को साविक धम्जा गाविसको ८,९, १ ,२ का सबै घरमा खानेपानी पुगेको छ । उक्त वडामा पर्ने माझकटेरा, द्वारा, ओखले, असौजे, काउलेलगायतका गाउँमा खानेपानीको सुविधा पुगेको छ । यस्तै, धम्जा साविक गाविसको ५, ६, ७ र ४ मा खानेपानीको पहुँच पु¥याउन बाँकी छ । धम्जामा ६ करोड ५ लाख ७६ हजारको लागतमा २४३ घरमा खानेपानी पु¥याएको कार्यालयका इञ्जिनीयर ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १४ मुलको पानी १० उप–आयोजनामा विभाजन गरी घर–घरमा खानेपानी पु¥याइएको हो ।
खानेपानी जीवनज्योति निर्माण सेवा र बाँस्तोला निर्माण सेवाले ठेक्कामार्फत खानेपानी आयोजना निर्माण गरेको थियो । मिटर जडित खानेपानी धाराले पानीको समेत बचत गर्नेछ । इञ्जिनीयर शर्माका अनुसार ११ वटा पानी सङ्कलन गर्न पाँच हजारदेखि ३० हजार लिटर क्षमताको ट्याङ्की, ८ किलोमिटर मुख्य पाइप लाइन तथा २२ किलोमिटर वितरण लाइनमार्फत घरघरमा खानेपानी पु¥याइएको हो । निर्माण गर्न थालिएका बाँकी ४० धारा आगामी असार मसान्तसम्म सकिनेछ । हालसम्म उक्त आयोजनाले धम्जाका दुई हजार जनसङ्ख्यालाई प्रत्यक्ष लाभान्वित गराउँदै आएको छ ।









