२६ पुष, गलकोट । जग्गा अभावका कारण बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ नौ वर्षदेखि सञ्चालनमा आउन सकेको छ्रैन । यहाँको धौलागिरि यातयात व्यवस्था कार्यालयमा २०६९ सालदेखि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न सकेको छैन ।
विसं २०६९ देखि सवारी चालक अनुमतिपत्रका परीक्षाको नयाँ मापदण्ड लागू भएसँगै जग्गा अभावमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द भएको थियो । दुईपाङ्गे्रका लागि निरयघाटमा भाडामा जग्गा लिएर २०७४ सालदेखि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र खुलेको भए पनि चारपाङ्ग्रेको परीक्षा हुन नसकेको धौलागिरि यातयात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिंह थापाले जानकारीदिनुभयो ।
“नयाँ मापदण्डमा प्रयोगात्मक परीक्षा सञ्चालनका लागि ठूलो जग्गा आवश्यक हुन्छ” उहाँले भन्नुभयो,“सार्वजनिक जग्गा छैन, भाडा तिर्दासमेत उपयुक्त जग्गा पाइएन ।” अहिले पनि जग्गाको खोजी भइरहेको र उपयुक्त जग्गा पाउदासाथ चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालनमा ल्याइने छ ।
कार्यालयका अनुसार कोरोनाका कारण रोकिएको दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन फर्म गत मङ्गलबारदेखि धौलागिरि यातयात कार्यालयले खुल्ला गरेको छ । कोरोनाका कारण गत चैत ११ गतेदेखि रोकिएको फाराम यही पुस १४ देखि खुल्ला भएपछि फाराम भर्नेको चाप बढेको कार्यालयले जनाएको छ ।
धौलागिरिको चार जिल्ला हेर्नेगरी २०६५ सालमा स्थापना भएको कार्यालयमा पछिल्लो नौ वर्षदेखि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र नखुलाए पनि दुईपाङ्ग्रेको सवारी चालक अनुमतिपत्र खुलाएको थियो । धौलागिरिसहित लामो समय चालक अनुमतिपत्र नखुल्दा आवेदन दिनेको सङ्ख्या अत्यधिक भएकाले अनलाई फर्मसमेत भर्न समस्या हुँदै आएको छ ।
अहिले धौलागिरि यातयात व्यवस्था कार्यालयले दैनिक ४० मोटरसाइकल र २० स्कुटर गरी ६० जनाको फाराम दर्ता गर्दै आएको छ । “आवेदनको चाप थामी नसक्नु छ, बिहान ६ बजे खुलेको अनलाईन फर्म १० नबज्दै सकिन्छ” प्रमुख थापाले भन्नुभयो “अब नियमित ट्रायल हुँदै गए केही हदसम्म घट्दै जाला ।”बन्दाबन्दी भन्दा अगाडि लिखित दिएका र फर्म भरेकालाई नयाँ व्यवस्था आउने उहाँको भनाइ छ । आगमी एक हप्ताभित्रै छुटेकालाई सूचना आउने जानकारी थापाले दिनुभयो । उहाँले फर्म आइतबारदेखि बुधबारसम्म मात्रै खुल्ला हुनेछ ।
उहाँका अनुसार कोरोनाकालमा झण्डै दुई हजार भन्दा बढी मोटरसाइकल सवारी चालक अनुमति पत्रको परीक्षा दिनबाट वन्चित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षामा सहभागी गराउन थालिएको छ ।









