सरकारले बढाएको तेलको मूल्य वृद्धिबाट यातायात व्यवसायी पीडित

२९ माघ, काठमाडौं । सरकारले पटक पटक तेलको मूल्य वृद्धि गरेको भन्दै यातायात व्यवसायीहरुले आपति जनाएका छन् । उनीहरुले सरकारले वृद्धि गेको तेलको मूल्य एकमुष्ट रुपमा फिर्ता लिनुपर्ने माग राखेका छन् ।

सरकारले गएको पुस १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो । सरकारले बढाएको मुल्यबाट आफूहरु पीडित बन्नुपरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । अहिलेको अवस्थामा सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्थामा व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न व्यवसायीहरुले माग गरेका छन् ।

त्यस्तै उनीहरुले सरकारले माग पुरा गर्न नसके सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने बताएका छन् । यदि सरकारले पटक पटक गरेको तेलको मूल्यवृद्धि लगायत अन्य मागहरु पुरा नगरे आफुहरु कठोर निर्णय लिन वाध्य हुने यातायात व्यवसायीहरुले बताएका छन् ।