Ad #144479

२२ पुष, काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलास छाड्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित ५ जनाको इजलास गठन गरेका थिए ।

संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी पनि छन् । विपक्षीहरुको लिखित जवाफ आएपछि बुधबार सुरु भएको सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाए ।

कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको तर्क थियो । सो तर्कपछि कार्कीको आलोचना हुदै आएको थियो । अर्का अधिवक्ता दिनेश त्रिपाठीले पनि कार्कीले ओली संलग्न मुद्दा हेर्दा स्वार्थ बाझिने बताएका थिए ।