१८ पुष, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै २४ पुसमा ७७ जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिइनेछ । प्रधानमन्त्री केपी ओलीले हठात प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ।
पहिलो चरणमा पुष १४ गते यो समूहले काठमाडौँमा विरोधसभाको आयोजना गरेको थियो भने देशव्यापी रुपमा कार्यकर्ता भेलाको आयोजना गरेको थियो।
माइतीघरमा भएको प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु ‘हामी यहाँ छौँ’ लेखिएको कार्ड छातीमा टाँसेर सडकमा ओर्लेका थिए।
आन्दोलनका कार्यक्रमहरु
- पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
- पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
- पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
- २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
- २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
- ३६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
- २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
- २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
- २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
- ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
- ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
- १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली ।
- १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
- २२ माघमा वडा तहमा मसाल जुलुस ।
- २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।











