दसैँमा भएको चहलपहलले देशभरका ४७ पालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीले गरेको एक अध्ययनमा २२ पालिका अत्यन्तै उच्च जोखिममा र २५ पालिका उच्च जोखिममा परेको देखाएको छ ।
सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका पालिकाको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । ट्र्याकिङबाट ४७ पालिका कोरोनाको जोखिममा परेको पाइएको हो ।
सिसिएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको तर ती क्षेत्रमा कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने नबुझाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर अधिकारीका अनुसार मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो ।
उहाँले भन्नुभयो,‘दसैँमा त्यहाँ गएकाहरुले पनि कोरोना फैलाउने र अन्तबाट आएकाहरूबाट पनि फैलने देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै नभएर बाहिरका हटस्पट भनेर सूचीकृत भएका ४७ ठाउँका नागरिकले विशेष ख्याल गर्नुपर्ने समेत डाक्टर अधिकारीले बताउनुभयो ।
देशभर कोरोना भाइरस संक्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ । उनीहरूमध्ये एक लाख ३१ हजार दुई सय २२ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो । अहिले देशभर ३८ हजार पाँच सय ८४ जना सक्रिय संक्रमित छन् ।









