इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ । यूएईको सारजाहमा बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
हैदराबादको जितमा रिद्धिमान शाहले ३९ र मनिस पाण्डेले २६ रन जोडे । यस्तै जासन होल्डर २६ रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट तथा वासिंगटन सुन्दर र नाभदिप शैनीले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । बैंगलोरका लागि जोस फिलिपेले ३२, एबी डी भिलियर्सले २४ रन जोडे ।
त्यस्तै वासिंगटन सुन्दरले २१ रन बनाए । गुर्किरात सिंहले अविजित १६ रन बनाए । कप्तान विराट कोहली ७ रनमा आउट भए । हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २÷२ विकेट लिए । यस्तै राशिद खान, शबाज नदीम र टि नटराजनले १÷१ विकेट लिए । जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ । हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।
बैंगलोरलाई प्ले अफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । बैंगलोरले १३ खेलमा ७ जित सहित १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ । बैंगलोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।









