बढ्दै चिसो, फैलिँदै कोरोना संक्रमण : कसरी जोगिने ? यी हुन् डाक्टरका मुख्य सुझाव

रमिता दंगाल

दशैँ सकिए लगत्तै चिसो बढ्न थालेको छ । बिहीबार र शुक्रबार काठमाण्डौको तापक्रम यसवर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको थियो । गर्मी बिस्तारै हट्दैछ । जाडोको मौसम सुरु भएसँगै कोरोना भाइरस तथा सिजनल फ्लुको संक्रमण बढ्ने जोखिम छ ।

सिजनल फ्लु र कोरोना भाइरसका लक्षण उस्तै उस्तै हुने भएकाले सकेसम्म सतर्कता अपनाउनुपर्नेमा डाक्टरले जोड दिएका छन् । चिसो बढ्दै जादाँ कोरोना भाइरसको संक्रमण पनि बढ्न सक्ने खतरा भएकाले थप सावधानी अपनाउन इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं सरुवा रोग विशेषज्ञ डाक्टर बाबुराम मरासिनीको सुझाव छ ।

चिसोमा भाइरसको जोखिम किन बढी ?

गर्मी वा चर्को घाम लागेका बेलामा सरुवा रोगका भाइरस लामो समयसम्म बाँच्न सक्दैनन् । बाहिर घाम चर्कने र तापक्रम पनि बढी हुने भएकाले भाइरस छिट्टै मर्न सक्छन् । ‘सूर्यको हिट र अल्ट्रा भ्वायलेट रे ले भाइरसलाई मारीदिन्छन् । तर अहिले चिसोसँगै कोठाभित्र बस्ने र कोठा पनि धुम्म धुम्मिने गर्छ, डाक्टर मरासिनीले भन्नुभयो,‘चिसो मौसममा सतहमा लामो समयसम्म भाइरस बस्न सक्ने भएकाले कोरोना भाइरसको संक्रमण थप फैलने हुन्छ ।’

चिसोमा परिवारका सदस्यहरु एकआपसमा नजिकै बस्ने, मानिसहरु समूहमा बस्ने, आगो बालेर वरपर झुम्मिने चलन छ । मानिसहरु भेला भएर आगो बालेर ताप्ने व्यवहारलाई परिर्वतन गर्नुपर्नेमा उहाँको जोड छ । डाक्टर मरासिनीका अनुसार झ्याल, ढोकाहरु बन्द गरेर आगो ताप्दा कोठा गुम्सिने भएकाले एकअर्काले फेरेको श्वास बाहिर जान पाउँदैन ।

स्वच्छ हावा कोठामा ओहोरदोहोर नहुँने, एकै ठाउँमा बस्दा संक्रमण फैलिने बढी सम्भावना बढी हुन्छ । कोरोना भाइरस हावामा तीन घण्टासम्म जीवित रहन सक्छ । यदी कोहि संक्रमित व्यक्ति सम्पर्कमा आएर हावा पास हुन पाएन भने अरु व्यक्तिमा समेत संक्रमणको जोखिम बढ्छ ।

जाडोमा धेरै मानिसहरुलाई फ्लु हुन सक्छ र मानविय व्यवहार जस्तै सिँगान हातले नै पुछ्ने, हात बेला बेला साबुन पानीले नधुने, खोक्दा वा हाच्छुँ गर्दा रुमालले मुख नछोप्ने, नजिक नजिक भएर बस्दा जोखिम बढी हुने डाक्टर मरासिनीले बताउनुभयो ।

बढी जोखिम हुने उमेर समुह

साधारणतया ज्येष्ठ नागरिक, दिर्घरोगी तथा गर्भवती र सुत्केरीलाई जोखिम बढी हुने गर्छ । तर पछिल्ला तथ्याङ्क केलाउँदा जोखिम समूह पनि फरक फरक देखिएको छ । योङ्ग अर्थात् जवान र स्वस्थ्य व्यक्तिलाई पनि बढी जोखिम र कोरोना भाइरसको संक्रमण भएको देखिएको छ ।

यसअघि बच्चा, दिर्घरोगी र बुढापाकाहरुलाई बढी जोखिम देखिएको थियो । भर्खरको जवान अर्थात् युवा उमेर समूहका मानिसहरु हामीलाई केहि हुँदैन भनेर मास्क नलगाई हिँड्ने, हेल्चेक्राईं गर्ने गर्दा बढी जोखिम बढेको हुनसक्ने उहाँले बताउनुभयो ।

साथै पछिल्लो समय पाका उमेर समूहका नागरिकहरु कोरोना भाइरस लाग्न सक्ने भएकाले बढी सचेत हुन थालेका छन् । यसले गर्दा संक्रमणको जोखिम केहि कम भएको हुन सक्ने उहाँको दाबी छ ।

व्यक्ति आफैँ कसरी जोगिने ?

कोरोना होस् या सिजनल फ्लु अथवा अरु सरुवा रोगका भाइरसको संक्रमणबाट जोगिन व्यक्ति आफैँले बढी सतर्कता अपनाउनुपर्छ । ज्वरो, रुघाखोकी लागेको छ भने घरबाट बाहिर ननिस्किन, घरमा बस्दा परिवारका सदस्यको निगरानीमा तर उनीहरु भन्दा केहि अलग्गै भौतिक दूरी कामय राखेर बस्न, सकेसम्म छुट्टै कोठामा बस्न, आफ्नै सरसामग्री प्रयोग गर्न, ट्वाइलेट बाथरुम भए छुट्टै नभए प्रयोग गरीसकेपछि डिस्इन्फेक्सन गर्न डाक्टर मरासिनीको सुझाव छ ।

सामान्य रुघाखोकी पनि अरुलाइ सर्ने र ज्यानै लिनसक्ने हुन सक्छ । सामान्य रुघाखोकी त होनी भनेर हेलचेक्राई गर्नु हुँदैन । कोरोनाका कारण नेपालमा झण्डै १ सय ८५ मध्ये एक जनाको ज्यान गएको छ ।

त्यस्तै सिजनल फ्लुमा तीन सय जनामा एक जनाको ज्यान जाने गरेको छ । सामान्य रुघाखोकी पनि खतरा भएकाले सावधानी अपनाउनुपर्नेमा डाक्टर मरासिनीको जोड छ । सामान्य रुघाखोकी र कोरोना भाइरस सर्ने तरिका उस्तै उस्तै र लक्षण पनि धेरैजसो मिल्दो जुल्दो भएकाले आवश्यक परे पीसीआर जाँच गराउन उहाँको सुझाव छ ।

जाडोमा हुन सक्ने कोरोना संक्रमणबाट जोगिने उपायहरु

चिसोमा कोरोना भाइरस लामो समयसम्म जीवित रहने भएकाले चिसोबाट बच्न आफुलाई न्यानो बनाइ राख्नुपर्छ । राति सुत्दा एकै ठाउँमा धेरै मानिस नसुत्ने, तातो न्यानो कपडा ओड्ने र अरुबेला पनि बाक्ला र न्यानो कपडा लगाउने गर्नुपर्छ । चिसो हुन्छ भनेर झ्याल ढोका थुनेर एकै ठाउँमा भेला भएर नबस्न डाक्टर मरासिनीको सुझाव छ । साथै कोठालाई गुम्सिन नदिने र हावा ओहोर दोहोर हुन दिनुपर्छ ।

हात बेला बेला साबुनपानीले मिचिमिचि हुने, खोक्दा र हाँच्छुँ गर्दा रुमाल वा कुइनोले छोप्ने गर्न बिर्सनु हुँदैन । सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्न तथा संक्रमित व्यक्तिले मास्क लगाइराख्ने र अरु व्यक्ति पनि घरबाहिर निस्किंदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ । भिडभाड र जमघट नगर्न पनि उहाँको सुझाव छ ।

संक्रमण रोक्न सरकारको भूमिका

कोरोना संक्रमण रोकथाममा सरकारको भूमिका प्रमुख रहन्छ । सरकारले स्वास्थ्य सम्बन्धि सचेतना जगाउनुपर्ने र स्वास्थ्य मापदण्ड नअपनाउने, नमान्नेहरुलाई कडा कारबाही गर्नुपर्ने डाक्टर बाबुराम मरासिनीले बताउनुभयो । ‘कानुन संसोधन गर्नुपथ्र्यो तर सरकारले वास्तै गरेन, उहाँले भन्नुभयो,‘स्वास्थ्य मन्त्रालयले काम गर्ने जाँगर पनि देखाएको छैन ।’

स्थानिय तहबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि हुनुपर्ने जति काम नभएको उहाँको भनाई छ । स्थानिय तहले कोरोना संक्रमणको रोकथामको लागि घर घरमा गएर घरदैलो सचेतना कार्यक्रम गर्नुपथ्र्यो त्यो पनि प्रभावकारी भएन । काठमाण्डौमा कोरोना संक्रमण बढ्दै गएर कोरोनाको हटस्पट बन्दा समेत महानगरपालिकाले चासो नदेखाएको उहाँको भनाई छ । सरकार र स्थानीय सरकारले सतर्कता अपनाऔं भन्ने हो ।

दोहोरो भूमिका रहेकाले आम नागरिकले नै आफू जोगिने र अरुलाई पनि संक्रमण हुनबाट जोगाउनुपर्ने देखिन्छ । डाक्टर मरासिनीले भन्नुभयो,‘आफु स्वयम् सचेत भएर स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ । आफु पनि बाचौं र अरुलाई पनि बचाऔं भनेर लाग्नुपर्ने र जनस्वास्थ्यका मापदण्डलाई कडाइ साथ पालना गर्नुपर्ने खाँचो छ ।’

[sidebar name="button post"]