रगत र रक्तदानबारे महत्वपूर्ण जानकारी : एक पिन्ट रगतबाट ३ जनाको ज्यान बचाउन सकिन्छ तर किन भैरहन्छ रगतको अभाव ?

समिता श्रेष्ठ

रगतको अभाव बढ्दै गएको छ । कोरोना संक्रमण फैलदै र संक्रमित दिनहुँ बढ्दै गएपछि रगतको पनि अभाव बढ्दै गएको हो । रक्तदानका बारेमा जनचेतना बढाउन नसक्दा रगतको समस्या देखिएको हो । रगत अभावकै कारण विरामीले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले सामाजिक संजाल मार्फत टिम ब्लडपल नामको ग्रुप सञ्चालन गरेको झण्डै तीन वर्ष भैसकेको छ । टिम ब्लड ग्रुपमा जोडिएर काम गर्दै आएका सुरेश मानन्धर अहिले प्रमुख संयोजक समेत हुनुहुन्छ । टिम ब्लडपल ग्रुप र यसबारेका महत्वपूर्ण जानकारी यसप्रकार छ ।

टिम ब्लडपलले गर्ने कामहरु

यो समुहले विभिन्न रक्तदान कार्यक्रम, रक्तदान जिवनदान सहित जनचेतनामूलक कार्यक्रम साथै निशुल्क रक्त समुह परिक्षण जस्ता रगत सम्बन्धित काम गर्दै आएको छ । यस समुहले सरकारले गरेको लकडाउनको समयमा काठमाडौका ४ र झापाको १ ठाउँमा रक्तदान कार्यक्रम गरेको थियो ।

लकडाउन र कोरोनाको महामारीका बेला समुहमा भेला भएर जनचेतनामूलक कार्यक्रम गर्न सम्भव नभए पनि सामाजिक संजाल मार्फत् नै जनचेतना फैलाउने काम पोस्ट मार्फत गर्दै आईरहेको छ । टिम ब्लडपलले रक्तदान गर्ने, रक्तदान गर्न जनचेतना फैलाउने, उत्प्रेरित गर्ने र रक्तदान गर्नेलाई उत्प्रेरणा दिने काम गर्दै आईरहेको छ । त्यसैअनुसार रक्तदान कार्यक्रम चाडपर्व र आपतकालीन अवस्थामा गर्दै आईरहेको छ ।

त्यस्तै कोरोना अगाडी स्कुल, कलेजहरुमा गएर जनचेतना फैलाउदै आईरहेको थियो । आर्टको माध्यमबाट रक्तदान सम्बन्धि जनचेतना फैलाउने काम कौशलटार, बनेपा लगायतका विभिन्न ठाउँमा गरेको थियो ।

रगत र समूह

रक्त समूह ए, बि, ओ र एबि गरेर चार प्रकारको हुन्छ । त्यसमा पनि पोजेटिभ र नेगेटिभ गरेर आठ प्रकारको हुन्छ भनेर बुझ्ने गरिन्छ । यी रक्त समुहमा पनि सजिलैसंग पाउन सक्ने रगतको समुहमा पोजेटिभ पर्दछ भन्ने नेगेटिभ रक्त समूह सजिलै पाउन सक्दैनौ । त्यसमध्ये पनि सबैभन्दा सजिलै पाउन सक्ने रक्त समुहमा ओ पोजेटिभ हो भने सबैभन्दा पाउन मुस्किल रक्त समूह एबि नेगेटिभ हो ।

तर अहिले कोरोना महामारी र चाडपर्वको कारणले सजिलैसंग पाउन सक्ने रक्त समूह पनि पाउन सकिरहेको छैन । यसबारे सुरेश मानन्धर भन्नुहुन्छ, चाडपर्वको बेला सधैं नै ब्लडको अभाव सिर्जना हुन्छ । त्यो पनि उपत्यकामा धेरै नै अभाव सिर्जना हुन्छ । रेडक्रसको तंथ्याक अनुसार चाडपर्वमा लगभग ५ प्रतिशत स्थानीय ब्यक्ति मात्रै रक्तदान कार्यक्रममा सहभागी हुने गर्दछ ।

किनभने सबै जना यो समयमा आफ्नो स्थानीय गाउँ घरमा फर्कने हुनाले पनि यो समस्या अरु बेला भन्दा चाडपर्वमा बढी हुने भएको हो । त्यसमाथि कोरोना महामारीको कारण पनि रक्तदान गर्न मान्छेहरु डराई रहेको अवस्था छ । यस कारणले पनि सजिलैसंग पाउन सकिने रगत पनि पाउन सकेको अवस्था छैन ।’

ब्लड र तत्व

ब्लडबारे थप जानकारी दिदै सुरेश मानन्धर भन्नुहुन्छ,‘ब्लड डोनर अर्थात् दान गर्न खोज्दा तथा ब्लडको काम गर्दा ब्लड भित्र तत्व हुन्छ भनेर हामीले बुझ्नु पर्दछ । कतिले ब्लड चाहियो भनेर भन्दा खेरी हामी कुन तत्व भनेर पनि सोध्ने गर्छौ । तत्व भनेको प्याकसेल, होलब्लड, पिरासी, डब्लूबिसि, आरबिसी जस्ता हुन ।

यो पोजेटिभ र नेगेटिभ दुबैमा हुने गर्दछ । जस्तै फ्रेसब्लड चाहिनेलाई प्याकसेल चढाएर काम लाग्दैन त्यस्तै प्याकसेल चाहिनेलाई फ्रेसब्लडले काम गर्दैन । यसरी एउटा ब्लडग्रुप भित्र पनि फरक फरक तत्व हुने भएकोले दिन मिल्दैन । हामिले हाम्रो कोहि आफन्तहरुलाई ब्लड आवश्यक पर्दा सबैभन्दा सुरुमा रक्त समूह हेर्नू पर्दछ । त्यसपछि तत्व हेर्नू पर्दछ । यति थाहा पाई राख्नु पर्छ ।

त्यस्तै गरि भोलेन्टरी रुपमा हामीले कसैलाई ब्लड दिनुपर्यो भने ब्लडग्रुप, त्यसपछि कंम्पोनेट, हस्पिटलको नाम, बिरामीको जानकारी, ब्लड चाहिने समय कहिलेको लागि आवश्यक परेको हो जस्ता कुरा बुझ्नु पर्दछ । अहिले ब्लडको समस्या यो कुरा नबुझ्दा पनि भैरहेको छ । सजिलै पाउन सकिने ब्लडको हाहाकार मच्चिनुको कारण चाडपर्व, महामारीको साथसाथै ब्लड चाहिने समयबारे राम्रो जानकारी नभएर पनि हो ।

डाक्टरले ३/४ दिनपछी ब्लड भए पनि फरक नपर्ने हुन्छ भनेको ब्लडलाई पनि ईमर्जेन्सी भनेर राखिएको हुन्छ । कहिलेको लागि ब्लड आवश्यकता भएको भनेर थाहा नपाई सामाजिक संजालमा राख्ने भएको कारणले पनि बेला बेलामा हाहाकार मच्चिएको हो ।

सामाजिक संजाल माध्यम

सामाजिक संजालमा राख्यो भने ब्लड पाईन्छ भन्ने अवधारणा विकास हुँदै गएको छ । कहिलेकाहीँ पाइन्छ पनि । तर ब्लड बैंकमा नखोजी सामाजिक संजालमा खोज्ने भएकोले रगत अभाव भएको पनि हुनसक्छ । सामाजिक संजालमा राखेकोहरुलाई फोन गरेर सोध्दा ब्लड बैंकमा सम्पर्क गरेको हुँदैन । पछि ब्लड बैंकसंग समन्वय गर्दा त्यहाँ ब्लड हुन्छ र हामिले ब्लड बैंकमा पठाउने गर्छौ ।

यो सबै ज्ञानको कमिले हुने गरेको देखिन्छ । ब्लड खोज्नलाइर्, बुझ्नुलाई ब्लड बैंक नै जान् पर्दैन । कल गरेर बुझ्दा पनि हुन्छ । ब्लड खोज्दा सबैभन्दा पहिले हस्पिटलमा बुझ्न पर्दछ कहिले चाहिन्छ र कुन तत्व चाहिन्छ भनेर । त्यसपछि ब्लड बैंकसंग समन्वय गर्नु पर्दछ भन्ने नबुझेर पहिले नै सामाजिक संजालमा हालेको देखिन्छ । दुर्घटनामा रगत कहिले चाहिन्छ थाहा हुँदैन । तर अन्य अप्रेसन जस्तै मुटुको, गर्भावस्थाको अप्रेसन गर्नु पर्दा ब्लड चाहिन्छ वा चाहिन सक्छ भन्ने कुरा पहिले थाहा हुन्छ ।

आफुलाई थाहा भएको अवस्थामा पहिले नै २/४ जना रक्तदाता खोजेर तयारी राख्नु सक्छौ । तर हामी बिना तयारी हस्पिटल जान्छौ । त्यहाँ पाईहाल्छ भनेर हेल्चेक्राई गर्छौ र परेपछी आत्तिने गर्छौ । यसको समाधानको उपाय भनेको आफुले चाहिन सक्ने ब्लड आफ्नो आफन्त, साथिभाई जो संग मिल्छ, उहाँहरुसंग पहिले नै समन्वय गरेर राख्न सक्यो भने हाहाकार मच्चिदैन । तर यो बाहेक दुर्घटनामा रगतको आवश्यक कहिले पर्छ थाहा हुँदैन । यसैको लागि भनेर हामिले विभिन्न रक्तदान कार्यक्रमहरु राख्ने गर्दछौं ।

रक्तदान कार्यक्रममा हामिले रगतको समुह लेखेको कार्ड दिने गर्दछौ । जसले गर्दा आवश्यकता पर्दा सजिलो हुन्छ । हामिले रगत खोज्दा सबैभन्दा पहिले आफ्नो आफन्त, साथीभाइसंग खोज्नु पर्दछ, त्यसपछि ब्लड बैंकमा खोज्ने अनि त्यहाँ पाईएन भने मात्रै सामाजिक संजालमा खोज्नु पर्दछ । यसरी खोज्दा समस्या चाँडै समाधान हुन सक्दछ । तर हामी सबैभन्दा पहिले सामाजिक संजालमा खोज्ने गर्छौं । त्यसैले हाहाकार मच्चिएको देखिन्छ ।

कति उमेर समूह र तौल भएकोले वर्षमा कति पटक रक्तदान गर्न सक्छन्

रेडक्रसका अनुसार १८ बर्ष पुगेको र ६० बर्ष ननाघेको कुनै पनि स्वस्थ ब्यक्तीले जसको तौल ४५ किलो भन्दा बढी छ, उनीहरूले रक्तदान गर्न सक्छन् । प्याकसेलको लागि चाहिँ पुरुष नै हुनुपर्छ र ६० केजि भन्दा धेरै तौल भएको हुनुपर्छ । यसको लागि महिलाको ब्लड हुँदैन । साधारणतया होलब्लड, फ्रेसब्लड, पिरासी, डब्लूबिसि, आरबिसीलाई ४५ केजि भन्दा धेरै १८ बर्षदेखि माथी र ६० बर्ष ननाघेको हुनुपर्छ । यो रक्तदान स्वस्थ्य ब्यक्तिले बर्षको ४ पटक ३/३ महिनाको फरकमा गर्न सक्छन् ।

रक्तदान गर्दा हुने फाईदा र एक पिन्ट रगतको महत्व

रक्तदान गर्दा कुनै पनि नकारात्मक असर हुँदैन । यसले बरु सामाजिक रुपमा झन् ईमान इज्जत बढ्ने गर्छ । यसको साथसाथै रक्तदान ३/३ महिनामा गर्नाले कोलस्टोरलाई ठिक राख्ने गर्दछ । जसले गर्दा तौल बढी हुनेको घट्छ भने घटी हुनेको बढ्ने गर्छ । रक्तदान गर्नाले शरीरमा भएको खराब रगत हटेर जान्छ र नयाँ राम्रो सफा रगतको बिकास हुन्छ । यसले गर्दा शरिर स्वस्थ्य राख्न मद्दत गर्छ ।

जस्तै हृदयघात भएका २० जनाको तथ्यांक हेर्दा रक्तदान गर्ने ३ जनालाई भएको देखिन्छ, भने नगर्ने १० जनालाई भएको देखिन्छ । यसको अर्थ रक्तदानले हृदयघातको सम्भावना पनि कम गराउँछ । ‘असर भन्नाले ४५ केजि भन्दा कम तौल भएकोले दिएमा वा कुनै पनि रोगको सिकार भएकोले वा औषधि सेवन गरिरहेका व्यक्तिले रगत दिएमा रिगंटा लाग्ने, बेहोस हुने हुन हुन्छ, मानन्धर भन्नुहुन्छ,‘यस्तो बेला चै आफ्नै शरीरमा रगतको कमि हुँदा त्यसो भएको हो तर रक्तदान गरेर मानिसको ज्यान गएको अहिलेसम्म रेकर्ड छैन ।

’ विरामी वा तीन महिना नपुग्दै दान गरेको रगत काम लाग्दैन । किनभने त्यो रगतमा रक्तकोशिकाहरुको बिकास राम्रो भएको हुँदैन । त्यसकारण ब्लड बैंकले त्यस्तो रगत लिए पनि बिरामीको शरीरमा त्यो रगत चढ्दैन । त्यसैले रक्तदान बिरामी भएको बेला, ३ महिना भन्दा अगाडी, कुनैपनि औषधि सेवन गरेको बेला वा मध्यपान गरेको बेला गर्नु हुँदैन । यस्तो बेला गरेको रक्तदानले बिरामीको ज्यान बचाउँदैन त्यो खेर जाने गर्दछ ।

एक पिन्ट रगतबाट ३ जनाको ज्यान बचाउन सकिन्छ । तर रोग पिच्छे फरक पनि हुने गर्दछ । एउटै रोगीलाई एकैपटकमा ४/५ पिन्ट रगत चढाउने पर्ने पनि हुन सक्छ । साधारण रुपमा हेर्दा एक ब्यक्तिले गरेको रक्तदानले ३ जना सम्मको ज्यान बचाउन सकिन्छ ।

कोरोनाले रक्तदानमा पारेको असर

कोरोनाको प्रभाव नेपालमा देखिएदेखि नै रगतको अभाव फैलिदै आएको छ । कोरोनाले गर्दा लकडाउन हुँदा बिचको समयमा भने रक्तदान कार्यक्रम धेरै नै भएको थियो । नेपाल रेडक्रस तथा ब्लड बैंकले ३/४ जना जम्मा हुने बित्तिकै रक्तदान कार्यक्रम गर्ने गरेको थियो ।

त्यसको साथसाथै टोलटोलमा र घरमै गएर पनि रक्तदाताहरुसंग रगत संकलन गर्ने गरेको थियो । हस्पिटल गएर रक्तदान गर्न नसक्नेहरुका लागि हाम्रो टिप ब्लडपलले पनि २ वटा निःशुल्क सवारी साधन उपलब्ध गराएको थियो । त्यो समयमा चै रगत संकलन राम्रो भएको थियो । सार्न मिल्ने अप्रेसनहरु गरिएको थिएन । आकस्मिक र दुर्घटनाको केस मात्रै उपचार गरिएको थियो र बन्दको कारणले गर्दा दुर्घटना पनि त्यती भएको थिएन ।

त्यसैले रगतको अभाव लकडाउनको समयमा कम देखिएको थियो । प्लाज्मा थेरापी अर्थात् कोरोना लागेको व्यक्तिलाई गरिने उपचार विधि आएपछि चै रगतको अलि हाहाकार बढेको छ । किनभने यसमा चै कोरोना लागेर निको भएको व्यक्तिले १४ दिनपछि मात्रै रगत दिन मिल्छ । त्यसमाथि फेरि लाग्छ कि भनेर हस्पिटल जान डराउने र सामाजिक बहिष्कारको घटनाहरु पनि धेरै नै आएको हुनाले दाताहरू रक्तदान गर्न डराएको देखिन्छ ।

रगत अभाव हुन नदिन के गर्ने

ब्लड बैंकमा रगतको अभाव हुन नदिन रक्तदान सम्बन्धि जनचेतना फैलाउनु आवश्यक छ । रक्तदानको फाईदाहरुबारे जनचेतना फैलाएर हरेक ब्यक्तिमा रक्तदान गर्नुपर्छ भन्ने भावना बिकास गर्न जरुरी छ । ब्लड बैंकले रगत अभाव हुन नदिन हरेक शनिबार शनिबार पशुपति, महाबौद्ध लगायतको ठाउँहरुमा रक्तदान कार्यक्रम गरिरहेको हुन्छ । त्यो अझै बढाउनुपर्छ । रक्तदान गर्दा केही हुँदैन ३/३ महिनामा रक्तदान गरे राम्रो हुन्छ ।

मेरो परिवारलाई चाहिँदा मैले पनि रगत पाउन सजिलो हुन्छ भन्ने भावना विकास भयो भने रगतको अभावलाई निकै कम गर्न सकिन्छ । मानन्धर भन्नुहुन्छ,‘रक्तदान भनेको आफैका लागि, आफ्नै परिवार र समाजका लागि गर्दैछु भनेर बुझ्नु पर्दछ । आफुले अरुलाई रक्तदान गर्दा उसले पनि आफुलाई चाहिँदा रक्तदान गर्न सक्दछन् । त्यही भएर एकाअर्कासंग सम्बन्ध पनि राखिरहनुपर्छ र सामाजिक संजालबाट भएपनि एकाअर्कासँग जोडिरह्रयो भने आफुलाई नि आवश्यकता परेको बेला रगत पाउन सजिलो हुन्छ ।

आफुले सहयोग गरेको ब्यक्ति वा परिवारको अन्य सदस्यसंग आफुलाई रगत मिल्ने भएमा आफुलाई पनि सहयोग गर्न सक्दछन् । आफुले रक्तदान गर्दा सित्तैमा दान गर्छौ तर आफुलाई चाहिँदा पैसा तिर्नुपर्छ भन्ने पनि लाग्न सक्छ । तर त्यो पैसा चै रक्तदान गरेको ब्लडको तत्व छुट्टाउन र विभिन्न रोगहरु छ या छैन भनेर चेक गर्न हो भनेर बुझ्नु जरुरी छ ।’

[sidebar name="button post"]