समिता श्रेष्ठ
दशैँमा यसपाली धेरै चहलपहल भएन । थोरैले मात्रै काठमाण्डौ उपत्यका छोडे । बिगतका वर्षहरुमा झण्डै २० देखि २५ लाख नागरिक उपत्यका छोडेर बाहिरिन्थे । तर यसपाली बढीमा ६ लाखले मात्रै चाडपर्व मनाउन काठमाण्डौ उपत्यका छोडेको प्रहरीको तथ्याङक छ । गएको वर्ष माघबाट सुरु भएको कोरोना भाइरसको महामारीले यसपालीको दशैँलाई खल्लो बनायो । साथै तिहार र छठ पनि खल्लो हुने निश्चित छ ।
घरगाउँ गएकाहरु काठमाण्डौ फर्कने क्रम सुरु
शुक्रबारदेखि यसवर्षको दशैँ विधिवत् रुपमा सकिएको छ । कोजाग्रत पूर्णिमासम्म दशैँको टिका र जमरा लगाउने गरिन्छ । त्यसपछि टिका र जमरा नदी, तलाउ तथा पवित्र स्थलमा सेलाएपछि दशैँ सकिन्छ । दशैँ मनाउन घरगाउँ गएकाहरु काठमाण्डौ फर्कने क्रम सुरु भैसकेको छ ।
पोहोर परार जस्तो चहलपहल नभएपनि बिस्तारै काठमाण्डौ फर्कनेको संख्या बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवका अनुसार मंगलबारदेखि शुक्रबारसम्म झण्डै १ लाख काठमाण्डौ फर्र्किएका छन् । दैनिक २५ हजारको संख्यामा काठमाण्डौ भित्रनेक्रम जारी छ ।
यात्रालाई सुरक्षित बनाउन प्रहरीको अनुरोध
कोरोना भाइरसको संक्रमण घट्ने होइन, झन् झन् बढ्दो छ । यसैबेला चाडपर्व मनाउन मानिसहरु एक ठाउँबाट अर्को ठाउँ पुगेका छन् । आफन्त भेटघाट र जमघट बाक्लै भएको छ । त्यसैगरी यात्रा पनि सुरक्षित छैन । कोरोना संक्रमण फैलनसक्ने कारण यात्रामा सावधानी अपनाउन प्रहरीको अनुरोध छ । त्यस्तै चाडपर्वका बेला हुनसक्ने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । यो बेला थप सजग र सचेत बनेर यात्रा गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता यादवको आग्रह छ ।
‘महामारीको यो बेला गाडीमा यात्रा गर्नु जोखिमपूर्ण नै छ, उहाँले भन्नुभयो,‘यात्रा गर्नेले आफू सुरक्षित हुने र अरुलाई पनि संक्रमण हुन नदिन सरकारले तोकेका मापदण्डको पालना गर्नुपर्ने हुन्छ ।’ सरकारले सार्वजनिक गाडीमा यात्रा गर्दा मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न, कम्तिमा एक सिट छोडेर बस्न तथा नाक मुख छेकिनेगरी फेससिलको प्रयोग अनिवार्य गरेको छ ।
चालक, सहचालक तथा यात्रुले मास्क र फेससिल अनिवार्य लगाउनुपर्छ । ट्राफिक नियमको पालना गर्दै लामो दूरीमा २ जना चालक अनिवार्य हुनुपर्ने पनि उहाँले बताउनुभयो ।
यसपाली दशैँमा दुर्घटना कम
यसपालीको दशैँमा गाडी दुर्घटना कम भएको छ । गाडी नै कम चलेकाले दुर्घटना पनि कम भएको हो । साथै चेकजाँच पनि निरन्तर भैरहेको ट्राफिक प्रहरिले जनाएको छ । तोकिएका स्वास्थ्य मापदण्डका साथै ट्राफिक नियमको पालना गराउने र अटेर गरेमा ट्राफिक व्यवस्थापन ऐन अनुसार कारवाही हुँदै आएको यादवले बताउनुभयो ।
यसपालीको दशैँका १० दिनमा गरी देशभर सडक दुर्घटनामा ५१ जनाको ज्यान गएको छ । ६ सय २७ जना घाइते भएका छन् । तीमध्ये दुई सय १२ जना गम्भीर र चार सय १५ जना सामान्य घाइते भएका छन् । यादवका अनुसार सडक दुर्घटनाको मुख्य तीन कारणमध्ये पहिलो चालकको लापरबाही, दोस्रो सवारीसाधनको पार्टपुर्जामा समस्या र तेस्रो सडकको दूरावास्था हो ।
‘त्यसमध्ये पनि चालकको लापरबाहीका कारण बढी दुर्घटना भएको देखिन्छ । यसपालि कोरोनाको महामारीलाई ध्यानमा राखेर दूरी कायम गरि यात्रा गर्नु, जोरबिजोर कार्यान्वयन हुनु र गाडी कम चलेकाले दुर्घटना कम भएका पनि उहाँको भनाई छ ।









