इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई हराएको छ । यूएईमा राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट मैदानमा पन्जाबले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।
पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै सन्जु सामसनले ४८ र रोबिन उथप्पाले ३० रन बनाए । कप्तान स्टिभ स्मिथ ३१ र जोस बट्लर २२ रनमा अविजित रहे । पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १÷१ विकेट लिए ।
पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए । राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २÷२ विकेट लिए ।
पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ । पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा छ । अब प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ । मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाईसकेको छ ।









