Ad #144479

कबिता चापागाई

कोरोना भाइरसले हरेक वर्गलाई असर पारेको छ । सडकमा व्यापार गर्नेदेखि ठुला कम्पेक्ससम्म, न्यूनदेखि उच्च वर्ग, आम उपभोक्तालाई कोभिड १९ अर्थात् कोरोना भाइरसले असर गरेको छ । विश्वव्यापी लकडाउन, निषेधाज्ञा, भौतिक दुरी लगाएतका संक्रमण नियन्त्रणका उपायहरु अपनाउँदै दैनिकी सहज बनाउने प्रयास पनि भैरहेका छन् । परिवार पाल्न पत्रपत्रिका वितरण गर्दै आएका राम चौलागाईसँग कागेश्वरी खबरका सहकर्मी कबिता चापागाईले कुराकानी गर्नुभएको छ ।

पत्रपत्रिका कहिलेदेखि वितरण गर्दै आउनुभएको छ ?

२०७१ सालदेखि यो पेशा सुरु गरेको हुँ । अहिले कान्तिपुरमा आवद्ध छु । यो काम सुरु गरेपछि भूकम्प, नाकाबन्दी, तीन तहको चुनाव जस्ता निक्कै महत्वपूर्ण घटनाक्रम आए र गए पनि । अहिले कोरोना भाइरसको महामारीसँग जुध्नु परेको छ । ६ वर्षदेखि यसैले दैनिकी चलाउँदै आएको छु ।

लकडाउन हुनुअघि र लकडाउन भएपछि ग्राहकको सङख्यामा कतिको फरक आएको छ ?

लकडाउन हुनु अघि धेरै राम्रो थियो, ग्राहक सङख्या करिब ९५ थिए । तर अहिले घटेर ३५ जनामा आएको छ । अब भोलीका दिनमा अवस्था के हुने हो, अहिले भन्न सकिदैन । ग्राहक अझै बढ्न पनि सक्छन्, घट्न पनि सक्छन् ।

अहिले सबै घर घरमा हुन्छन्, पत्रपत्रिकाको माग बढ्न पर्ने होइन र ?

यो समयमा सबैलाई एउटै समस्या छ । कसैको पनि कमाई छैन । मानिसहरुलाई खानकै धौ धौ छ । आम्दानीको स्रोत नहुँने र कम हुनेहरुलाई अझ गाहे हुँदै गएको छ । ग्राहकहरुलाई हामीले पत्रपत्रिका लिन आग्रह गर्याे भने समस्या सुनाउनुहुन्छ । उहाँहरु भन्नुहुन्छ, अहिले इन्टरनेटमै सबै कुरा छ, दिन भरि टेलिभिजन हेर्याे भने त्यसमा पनि सबै कुरा देखाइहाल्छ । पैसा भएको भए पत्रपत्रिका पढ्ने बानी थियो तर के गर्नु बेलै त्यस्तै छ ।

आम्दानीको अवस्थाचाहीँ के छ ?

आम्दानीमा भने कमि आएको छैन् । किनभने हामीलाई मासिक तलब संस्थाले दिइरहेको छ । ग्राहकको संङख्या घटबढ भए पनि हामीले घाटा व्यहोर्नु पर्दैन तर संस्थालाई घाटा हुन सक्छ । संस्थाले जति धेरै नाफा कमायो त्यसैअनुसार हाम्रो तलब पनि बढ्दै जान्थ्यो । यत्ति हो तलब नबढ्ने भयो ।

अहिले पत्रपत्रिका ग्राहकसँग पु्र्याउँन सजिलो अप्ठारो के छ ?

हामीले ५ बजे भित्रमा सबैको घर घरमा पत्रपत्रिका पुर्याइसकेका हुन्छौ । ग्राहकहरु नै उठेका हुँदैनन् । उठे पनि उहाँहरुसँग कुरा नै हुँदैन । गेटमा राख्दिदै हिँड्ने गर्छौ । हामी माक्स, पञ्जा सेनिटाइजर बोकेर सुरक्षित भएर नै हिँड्ने गरेका छौँ । त्यहि भएर सबैले राम्रो व्यवहार गरेजस्तो लाग्छ ।

महामारी र जोखिमको यो बेलामा तपाईलाई सम्बन्धित संस्थाले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ ?

संस्थाले पुर्ण रुपमा सेवा पुर्याउदै आएको छ । हामीलाई सुरक्षित हुने सम्पुर्ण सामाग्रीहरु उपलब्ध गराएको छ । तर पनि ग्राहकको घर घरमा पुर्याउनपर्ने हुँदा डर त लाग्छ नै । सुरुमा गरिएको लकडाउनमा एक हप्ता बिदा पाएका थियौ । कोरोना भाईरस पूर्ण रुपमा सकिने देखिएन । कहिले निको हुने हो थाहा छैन, त्यहि भएर बिदा नदिए पनि अब कुनै गुनासो छैन ।

अब कसरी अगाडि बढ्ने सोंच बनाईराख्नु भएको छ ?

अहिले विश्व नै ठुलो संकटमा परेको छ । यो बेलामा आफु बाँच्ने बाहेक अरु केहि सोच्न सकेको छैन । हाम्रो यो बेलामा पनि अफिस चलिरहेको छ । तर कतिपय मानिसहरुको रोजिरोटी गुमेको छ । जागिर बन्द भइसकेको छ । कतिलाई जागिरबाट निकालिएको छ । त्यस्ता मान्छेहरुलाई अहिले हामीलाई भन्दा पनि धेरै गाह्रो भईरहेको छ । त्यसैले अब भइरहेको कामलाई नै महत्व दिएर अघि बढ्ने सोंच बनाई रहेको छु ।

अन्त्यमा के भन्नुहुन्छ, कोरोना सँगसँगै कसरी चल्न सकिएला ?

यो बेलामा हामी सबै सुरक्षित भएर बस्नुपर्छ । नागरीकहरु दिनदिनै भोकले मर्ने अवस्था आउन थालेपछि सरकारले निषेधाज्ञा खुकुलो पारिसकेको छ । कि अब सरकारले सबै भोकाहरुको पेट भरिदिनुपर्छ हैन भने नागरीकलाई सुरक्षित गराएर काममा लगाउनुपर्छ । नभए हरेक दिन भोकले जनता मरेको समाचार आउन थाल्छन् । त्यसैले अब राजनितिक नेतृत्व र आन्तरिक किचलो तिर भन्दा पनि केहि समय जनताको लागि साेंच्ने हो कि ।