कबिता चापागाई
सोंचे जस्तो हुँदैन जिवन । सम्झे जस्तो पनि हुँदैन जिवन । कल्पना गरे जस्तो पनि हुँदैन जिवन । त्यसैले त कल्पना घिमिरेले अझै सुख भेटाउनुभएको छैन । तर सुख खोज्दै भौतारिएको वर्षौ भयो । गरिबीका कारण आफन्त र नजिकका साथीहरु नजिक होइन बरु झन् झन् टाढा हुँदै गए ।
हेटौंडाबाट काठमाण्डौसम्म
घिमिरे २०४० सालमा हेटौडामा जन्मिनुभएको हो । उहाँ जन्मेको एक महिनामै बुवाले संसार छोड्नुभयो । घिमिरेलाई बुवाको माया थाहा भएन । एउटा पिडा जिन्दगीको सुरुदेखि नै थियो । उहाँका पाँच दाईहरु र दुई दिदीहरु छन् । परिवारमा उहाँ कान्छी तर दुख र कष्टको भारी भने सबैभन्दा धेरै ।
हुनत घिमिरेकी आमाले पनि उसैगरी दुख सहनुपर्यो । छोरीको स्कुल जाने उमेरमा स्कुलको बाटो खुलेन । वरपरका साथीसंगी स्कुल गएको हेरेर बस्नुपर्यो । घरको दयनिय अवस्थाले स्कुल जाने रहर पुरा भएन । घिमिरे ८ वर्षको हुँदा आमासँग काठमाण्डौ आउनुभयो । तर जिन्दगीमा थुप्रै पिडाहरु एकै साथ आए ।
काठमाण्डौको जिन्दगी
आमाले चिनेका गलैचा कारखानाका ठेकेदार थिए । उनको विवाह भएको धेरै वर्ष हुँदा पनि बच्चा भएको थिएन । ठेकेदारले छोरी आफ्नो घरमा राख्छु, पढाउँछु, हुर्काउँछु अनि ठुलो भएपछि विवाहदान पनि गरिदिन्छु भनेर आमासँग प्रस्ताव राखे । आमाले पनि घरको अवस्था सम्झेर छोरीलाई त्यहि छोडेर हेटौडा फर्किनुभयो । छोरीले पढ्ने र मिठो मसिनो खान लाउन पाउने आमाको आश थियो ।
जम्मा ८ वर्षकी छोरी अर्काको घरमा काम गरेर बस्नु पर्ने थियो । ठेकेदारले सुरु सुरुमा त माया गरेर राखेका थिए तर घिमिरे गएको दुई तीन महिनापछि ठेकेदारको श्रीमती गर्भवती भइन् । त्यसपछि घिमिरेले हेलाहोचो सहनुपर्यो । पढाउन भनेर राखेका ठेकेदारको व्यवहारले अझै दुख थपियो । घरको सबै काम सकेर रातमा गलैचा बुनेर बस्नुपथ्र्यो ।
कहिलेकाँही दाउराको झटारो समेत खाएकी घिमिरेलाई ती दिन सम्झदा अहिले पनि भक्कानो छुट्छ । आफुलाई गरेको व्यवहार सहेरै बसिन् तर कसैलाई पनि एक शब्द फर्काउन सकिनन् । बेला बेला लाग्थ्यो आफु ठुलो भएपछि तिनीहरुलाई पनि कुट्न लगाउँछु । ६ वर्ष काठमाण्डौ बसेपछि बस्नै नसक्ने भएपछि घिमिरे पुनः हेटौडा फर्किनुभयो ।
हेटौडा आएपछि विवाह
अर्काको घरमा बस्दाको पिडा सहेकी घिमिरे खानै नपाएपनि आफ्नै घरमा रमाउन थाल्नुभयो । कल्पनाका दिदीहरुको विवाह भइसकेको थियो भने दाईहरुको विवाह हुन बाँकी थिए । घरमा विवाहको कुराकानी चल्न थाल्यो । उहाँ १४ वर्षकी मात्र हुनुहुथ्यो । उ बेला छोरी मान्छे ठुलो हुने बेलासम्म माइती घरमा बस्यो भने नाक काट्छे, इज्जत फाल्छे भन्ने डर हुन्थ्यो, यहीँ डर थियो कल्पनाको घरमा पनि ।
विवाह के हो, विवाहपछि के हुन्छ ? घिमिरेलाई थाहा थिएन । तर आफू भन्दा धेरै उमेर अन्तर भएकासँग विवाहको कुरा चलेको थियो । विवाह गरेपछि मिठो खान, राम्रो लगाउन पाईन्छ भनेर अरुले भनेको घिमिरलेलाई झलझली याद छ । सानैदेखि दुख पाएकी उहाँले सुखै सुख होला भन्ने सोचेर विवाह गर्नुभयो ।
विवाहपछिका केहि वर्ष दुखकै सागर
घिमिरेको विवाह पनि हेटौडामै भएको थियो । सानैमा विवाह गरेको हुनाले घिमिरेलाई न श्रीमान्को माया लाग्थ्यो न त घर परिवारको नै । श्रीमान्ले माया गर्दा, काम सिकाउँदा पनि रिस मात्र उठ्थ्यो । जसोतसो घर बसाउँदै हुनुहुन्थ्यो तर विवाह गरेको १ वर्षमै गर्भ रह्यो । अनि पन्ध्र वर्षकै उमेरमा घिमिरेले असारमा छोरा जन्माउनुभयो । अरु सबैका मुहारमा खुसि ल्याएकी घिमिरेको अझै खुसि आएको छैन ।
श्रीमानको निधन, घर पहिरोले लग्यो
घिमिरेले एउटा सन्तान जन्माउनुभयो । त्यसै महिना पानी निक्कै पर्यो । बाढीपहिरोले घर भत्कियो । त्यसपछि उहाँलाइ अन्तै राखिएको थियो । यसै बेला घिमिरेका श्रीमान् एक्कासी बिरामी हुनुभयो र उहाँलाई हेटौडा अस्पतालमा राखियो । सबै पैसा सुत्केरी हुँदा सकिएको हुनाले श्रीमान्को उपचार गर्ने पैसा पनि थिएन, उहाँलाई रोगले भने दिनप्रति दिन च्याप्दै थियो ।
अनि श्रीमान्ले आफ्ना दाईभाईलाई भने,‘म यस्तो बिरामी छु, मलाई केहि भैहाल्यो भने त्यसलाई माया गरेर राख्नु, सानै छे गर्न केहि आउँदैन, बच्चा पनि सानो छ, उसलाई सबैले हेरिदिनु होला ।’ ती शब्द सम्झेर घिमिरे मन अहिले पनि भारी हुन्छ, आँखाबाट तररर आँशु झर्छ ।
पैसा जुटेन
अस्पतालले उपचारका लागि पैसा मागे । पैसा जुटाउन दाजुभाईले केही समय पर्खिनुस् हामी पैसा जुटाउँछौ भनेको याद छ । उपचार नरोक्न डाक्टरलाई आग्रह गरेका पनि हुन् । तर बचाउँने पहल भएन । अस्पतालकै बाल्टिनमा भमिट गर्दा गर्दै प्राण गयो । जब श्रीमान् बितेको खबर सुन्नुभयो घिमिरे बेहोस भएर लड्नुभयो ।
श्रीमान् बितेपछि
श्रीमान् बितेपछि अझै दुखका दिन सुरु भए । आफन्तले पनि साथ छोड्दै गए । त्यो १८ दिनको बच्चालाई दोष र खोट लगाउन थाले । धेरै समय त्यहि घरमा टिक्न सकिनन् । पछि सात महिनाको कलिलो बच्चा बोकेर धरान गइन् । धरानमा दिदी हुनुहुन्थ्यो । घिमिरे एउटा कोठा लिएर बस्न थाल्नुभयो ।
बिहान बेलुका खानको लागि काम गर्नैपर्थाे । आफुनो बच्चालाई दिदीकोमा छोडेर उहाँ दिनभरि डोकोमा गोलभेडा बोकेर धरान बजार घुम्ने र बेच्ने गर्नुभयो । यसरी कमाएको पैसाले बच्चालाइ मात्र खुवाउन पुग्थ्यो आफु भोक भोकै सुत्नुपथ्र्याे । ‘यसरी दिनदिनै मर्नु भन्दा त एकैचोटि छोरालाई पनि मार्छू आफु पनि मर्छु भनेर विष समेत किनेर घरमा ल्याएकी तर छोराको मुख हेर्दै यसको के गल्ति छ र यसलाई मार्नु भनेर खान भने सकिन ।’
यसरी काम गरेर खानै नपुगेको हुनाले पछि उहाँकै दिदीले माडेको घरमा काम लगाइदिइन्, त्यहाँ पनि दिनभरी घरको काम गर्नुपथ्र्याे । यसरी काम गर्दा खाना खाउ समेत कसैले भन्दैन थिए । ‘उनीहरुले खाइसकेपछि त्यो जुठो भाँडाको खानेकुरा सोरेर खान दिन्थे यो सम्झिदा अहिले पनि आँशु र्झछन् ।
पछि यो काम पनि छोडेर केहि समय बसे र सबैले विदेश जान सल्लाह दिए ।’ विदेश जानको लागि दिदीले पासपोर्ट बनाइदिनुभयो । आफुले पाएका दुखै दुख सम्झेर सानो छोरा आमाको काखमा छोडेर सुख खोज्दै विदेश लाग्नुभयो ।
विदेशी भुमिमा रुमलिएपछि
आफ्नै देशमा आफ्नै आफन्तले त माया गर्दैनन् भने अर्काको देशमा के माया लाग्थ्यो र ? झण्डै ५ वर्ष ओमानको बसाईमा धेरै दुख र कष्ट भोग्नुपर्यो । आप्mनो दुख सम्झेर ज्यानको ख्याल नगरी दिन रात काम मात्र गर्नुभयो । अरुले गाली गर्दा पनि केहि नभनेर चित्त बुझाउनुभयो । एक पल्ट धेरै बिरामी भएर बस्नु परेको थियो बिदेशीहरुले दुई चार दिन त राम्रोसँग खान दिएका थिए तर पछि खान दिन पनि छाडे ।
घिमिरे बस्ने नजिकै अरु नेपालीहरु पनि काम गर्न बसेका थिए । यसरी भोक भोकै बसेको देखेर उनीहरुले नै प्लाष्टिकमा खाना पोको पारेर ल्याइदिने गर्थे । बिरामीले च्यापेपछि साथीहरुले अस्पताल पुर्याएर उपचार गराएका थिए । उहाँ भन्नुहुन्छ,‘त्यो गुन मैले मेरा साथीहरुलाई कसरी तिर्नु ? तिनीहरु मेरो लागि भगवान हुन् । विदेश बसाईमा छोरालाई पढाउन र दिदीको जग्गामा सानो घर बनाएर आमा र छोरालाई राखेकी थिइन् ।
नेपाल फर्किएपछि जुरेका अवसर
बिदेशी भुमिमा नफर्किने साेंच बनाएर नेपाल आएकी घिमिरे केहि समय साथीको घरमा बस्नुभयो । आफ्नो आमा र छोरालाई हेटौडामा भेटेर पुनः काठमाडौ फर्किनुभयो । बिदेशमै बिरामी परेको हुनाले नेपाल आएपछि पनि रोगले भने छोडेन । विभिन्न अस्पतालहरुमा उपचार गर्न थाल्नुभयो । उपचारको क्रममा पाटन अस्पतालमा लक्ष्मण सुनुवारसँग भेट भयो । सुनुवार फिल्मका लागि कलाकारहरु लिने गर्थे ।
यसै क्रममा घिमिरेलाई पनि फिल्मको लागि अफर गरे तर घिमिरेले मान्नुभएन । समाजले फिल्म क्षेत्रलाइ त्यति राम्रो मान्दैन थियो ।
घिमिरे काठमाण्डौमै बस्न थाल्नुभयो । उहाँले छोरा र आमाका लागि पनि कमाउनुपर्ने थियो । यसै शिलशिलामा एक पटक फेसबुकमा गायकसँग भेट भयो । कुरा गर्दै जाने क्रममा उनले आफ्नो गितमा भिडियो खेल्नको लागि अफर गरे । घिमिरेले भिडियोमा खेल्ने इच्छा देखाउनुभयो । यसरी खेल्दै जाने क्रम्मा गायीका अञ्जु पन्त र मेलिना राईको गितमा समेत घिमिरेले भिडियो खेल्ने अवसर पाउनुभयो ।
टेलिसिरियलको यात्रा
कलाकारीताको क्षेत्रमा लागेपछि धेरै व्यक्तिसँग चिनजान भयो । केही महिना अघि मात्र ‘ताइनतुइ’ टेलिसिरियलमा खेल्ने अवसर पनि मिल्यो । केहि समय यसैमा काम गर्नुभयो । पछि ‘जुनकीरी’ नामको टेलिसिरियलमा दलितको भुमिकामा देखिनुभयो । अहिले कोरोना महामारीले गर्दा सबै क्षेत्रहरुमा असर गरेपछि उहाँ पनि फुर्सदिलो हुनुहुन्छ ।
अहिलेको दिनचर्या
अहिले घिमिरेका काठमाण्डौको कोठामै दिनहरु बितिरहेका छन् । काम छैन, कमाई छैन । कमाई नभएपछि छोरा र आमालाई पैसा पठाउन सक्ने कुरै भएन । र आफुलाई पनि कोठा भाडा तिरेर बस्न धौ धौ भइरहेको छ । कलाकारीताको क्षेत्रमा लागे पनि कमाई नभएको उहाँको गुनासो छ ।
केहि समय अघि खानको लागि कलाकारहरुले नै सहयोग गरेका थिए । त्यही खानेकुरा खाएर बस्दै आएकी उहाँ जिवनको कथालाई गितकै शैलीमा लेख्दै हुनुहुन्छ । जिवनका भोगाई र बिदेशी भुमिमा पसिना बगाउँदा आफ्नो आमा र छोराको यादलाई गितको शैलिमा प्रस्तुत गर्ने योजना रहेको छ ।












