काठमाण्डाै उपत्यकामा दुई हप्ता कढाई, प्रशासनले अत्यावश्यक सेवामात्र दिने

श्रावण २४, काठमाण्डाै । काठमाण्डाै उपत्यकाकामा अाईतबारदेखि थप कढाई हुने भएकाे छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठककाे निर्णय र गृह मन्त्रालयकाे निर्देशनमा कढाई हुन लागेकाे हाे ।

कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय भैसकेकाे छ । काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार १५ दिन अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने निर्णय भएको हाे ।

अत्यावश्यक सेवाकाे सुची सरकारले यसअघि नै सार्वजनिक गरिसकेकाे छ । मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा गाडीमा जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएकाे छ ।

केके हुन् अत्यावश्यक सेवा ?

नेपाल सरकारद्वारा २०७६ वैशाख ९ गते नेपाल राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार १८ वटा अत्यावश्यक सेवा भनेर निर्धारित गरिएका छन् । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम सरकारले अत्यावश्यक सेवाको सो सूची सार्वजनिक गरेको हो ।

सो सूचनाअनुसार सबै प्रकारको यातायात सेवा (जल, स्थल र हवाईमार्ग), हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसार–पसार गर्ने वा राख्ने, झिक्ने र थन्क्याउने कामलाई पनि अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ । त्यसैगरी डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवालाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ । यसैगरी सञ्चार माध्यम अत्यावश्यक सेवामा पर्ने छन् ।

त्यसैगरी  हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन, भण्डारण र वितरण, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ ।

त्यसैगरी अस्पताल र यससँग सम्बन्धित सबै प्रकारका सेवालाई अत्यावश्यक सेवाभित्र सूचीकृत गरिएको छ । एम्बुलेन्स, औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, खानेपानीको सञ्चालन तथा वितरण कार्यसमेत अत्यावश्यक सेवाभित्र राखिएको छ ।

पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण, दैनिक उपयोग्य वस्तुतर्फ खाद्यान्न, दाल, चामल, नुन तेलजस्ता वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ ।

विद्युत्सँग सम्बन्धित सेवा, फोहोरमैलासँग सम्बन्धित सेवातर्फ फोहोरमैला सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, सङ्कलन स्थल तथा व्यवस्थापनको कामलाई बैङ्क, बिमा तथा वित्तीय संस्थाद्वारा प्रदान गरिने सेवालाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको राजपत्रमा उल्लेख गरिएको छ ।

हवाई सेवा भदाै १ सम्म बन्द छ भने हाेटल तथा रेष्टुरेन्ट पनि जाेखिम बढेपछि सुनसान छन् ।

[sidebar name="button post"]