सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुङ्गो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ ।
अहिले एक÷दुई महिना कति चालकले आवेदन दिन्छन् भन्ने हेरेर योजना बनाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । अहिले नम्बर प्लेट लिनका लागि आवेदन विभागको छपाइको क्षमताभन्दा बढी आएमा समयसीमा तोक्न नपर्ने उहाँको भनाइ छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्तरूपमा यही साउन ९ गते टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गर्नुभएको थियो । सो नम्बर प्लेट लिनका लागि पहिले सवारीधनीले हालसम्मको राजश्व चुक्ता गर्नुपर्छ ।
विभागको वेबसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ । सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाइएको छ । दुईपाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय र तीन पाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ ।
त्यस्तै ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नम्बरप्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ । सवारीधनीले नम्बर प्लेट लिनका लागि तोकिएको बैङ्कमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ ।
दुईपाङ्ग्रे सवारी साधनका लागि रु दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार २०० र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।
इम्बोस्ड नम्बर प्लेट सजिलै पढ्न सकिने र नम्बर निकाल्न नसकिने हुँदा सवारीसाधनको चोरी कम हुने र कुनै पनि सवारी साधन कहाँ छ भनी जानकारी हुने बताइएको छ ।