सङ्क्रमित बढेसँगै उपत्यका भित्रिने नाकामा थप कडाइ

काठमाण्डाै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको छ । उपत्यका प्रवेश गर्दा पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । उपत्यका बाहिरबाट आउनेमा सङ्क्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाइ गरेको हो ।

मङ्गलबार मात्रै उपत्यकामा ६२ जना सङ्क्रमित थपिएका थिए । नागढुङ्गा, साँगा र फर्पिङ हुँदै हजारौँ नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्षसहित सरकारले प्रवेशमा कडाइ गरेको हो ।

प्रहरीले बुधबार पैदल हिँडेर उपत्यका प्रवेश गर्न खोज्ने विना पासका यात्रु सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपराह्नसम्म मास्क नलगाएका २५ जनालाई प्रहरीले कारबाही गरेको छ । पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । नाकामा गरिएका १० हजार आठ सय ५३ वटा पीसीआर परीक्षणमा ४० जनामा सङ्क्रमण पोजेटिभ देखिएको हो ।