रमिता दंगाल
साउन १९,काठमाडौँ। साउनको तेस्रो सोमबार आज पशुपतिनाथसँगै देशभरका शिवालयमा विगतको तुलनामा भक्तजन घटेका छन् । आज भिडभाड कम देखियाे । पशुपति सहित काठमाण्डाै उपत्यकाका कागेश्वरी महादेव मन्दिर, शंङ्खरापुरकाे मणिचुड सहित ललितपुर र भक्तपुरका विभिन्न मठ मन्दिरमा दर्शनार्थी घटेका हुन् । तर यसवर्ष साउनको तेस्रो सोमबार जनै पुर्णिमा पनि परेको हुँदा पहिलो र दोस्रो सोमबारको तुलना पशुपतिनाथमा अलि बढी चहलपहल थियाे। त्यस्तै अरु शिवालयमा पनि केही चहलपहल देखिन्थ्यो ।
साउनमा हिन्दु धर्मावलम्बी महिलाहरुले हरेक सोमबार व्रत बस्ने तथा शिवालयमा गएर पूजा, दर्शन एवं जल चढाउने परम्परा छ । साउनको सोमबार व्रत बसि भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । काेराेना संक्रमण जाेखिमका कारणा साउनको तेस्रो सोमबार पनि दर्शनार्थीको लागि पशुपतिनाथको मुख्य मन्दिर खोलिएन । भक्तजनले बाहिर खोला किनारमा पुजा आजा गरे । मुख्य मन्दिरकाे दर्शन गर्न नपाएका भक्तजनकाे गुनासाे छ ।
काठमाडौँको काँडाघारीबाट आएकी पम्फादेवी घिमिरे भन्नुहुन्छ, मूल मन्दिर अझै खुलेकाे छैन, खुलेको भए धेरै भिडभाड हुन सक्थ्यो कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै कम भिड होस् भनेर बाहिरको मठ मन्दिरमा पूजा गर्न दिइएको रहेछ। बाहिरै भए पनि पूजा गर्न पाउँदा खुसि लागेको छ ।
गंगबु बाँनियाटारदेखि आउनुभएको २५ वर्षका सोनु नेपाल पनि कोरोनाको डर भएकाले मन्दिर नखुलेकाे तर बाहिर दर्शन गर्दा मन खिन्न भएकाे उँहाको गुनासो छ।
सितापाइलाकी ६८ वर्षकी लक्ष्मी थपलिया भन्नुहुन्छ, भगवानको दर्शन गर्न भनेर आएको तर यँहा आउँदा मुख्य मन्दिर नै बन्द रहेछ। भित्र जान पाइएन। बाहिरबाट नै भगवानको दर्शन गर्न पाए खुशी छु।
चाबहिलका ४५ वर्षका कमला सापकोटा पनि आफूलाई मठ मन्दिर गइ राख्नुपर्ने तर यो कोरोनाले डर हुँदा मन्दिर जान नमिलेकाे बताउनुहुन्छ । पशुपति नजिक भएर आएकाे हुँ। तर मूल मन्दिरको दर्शन गर्न नपाउँदा मन खिन्न भएको छ।
ग्वार्कोबाट आउनु भएकी ४६ वर्षकी सरस्वति महर्जन भन्नुहुन्छ,आफ्नो सुरक्षा आँफै गर्नु भनेर मन्दिर खोल्देको भए हुन्थ्यो। मन्दिर नखुल्दा पनि भिडभाड देखियाे, दूरी कायम गर्न बिर्सेकाे देखियाे । धर्म कर्म गर्दा पनि काेराेनाले सताउँला भन्ने पिर ।