पशुपतिकाे गुरुयोजना तत्काल स्थगित : छलफल गर्न तीन सदस्यीय समिति गठन

 साउन १८ काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

कोषले बनाएको गुरुयोजना विवादमा तानिएपछि मन्त्री योगेश भट्टराईले आज सरोकारवालाहरुसँग छलफल गर्नुभएको हो । छलफलमा सहभागी नेपाली कांग्रेसका नेता गगन थापाले त्यो ठाउँबाट स्थानीयलाई स्थानान्तरण गर्न खोजे सांस्कृतिक विषयहरु लोप हुँदै जाने बताउनुभयो । स्थानीयहरुको प्रत्यक्ष सहभागिता नभए प्राचीनदेखि चल्दै आएका जात्रा र पर्वसमेत बन्द हुन सक्ने उहाँले बताउनुभयो ।

कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले गुरुयोजनामा धेरै विषयहरु छुटेकोले सरोकारवालाहरुको सहभागितामा बनाउनुपर्ने बताउनुभयो । मन्त्री भट्टराईले पशुपति क्षेत्रमा हुने जात्रा र पर्व सञ्चालनका लागि अक्षयकोषको स्थापना गर्नुपर्ने बताउनुभयो ।

छलफलमा मन्त्री भट्टराईले १० करोडको अक्षयकोष निर्माणका लागि प्रस्ताव गर्नुभयो । ५० प्रतिशत रकम पशुपति क्षेत्र विकास कोषबाट र ५० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने गरी अक्षयकोष स्थापना गर्नुपर्ने उहाँले बताउनुभयो ।

तत्कालका लागि गुरुयोजनाको काम स्थगित भएको छ । छलफलपछि एक महिना गुरुयोजनाको काम स्थगित गरेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई एक महिनाभित्र सरोकारवाला, स्थानीय, सम्बन्धित क्षेत्रका विज्ञ एवं इतिहासविद् र संस्कृतिविद्हरुसँग छलफल गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

गएकाे पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्ती उठाउनेसम्मको योजना समेटिएपछि स्थानीयहरु आन्दोलनमा छन् ।

[sidebar name="button post"]