अनिता धिताल
आज साउनको दोस्रो सोमबार । साउन महिनाको पहिलो सोमबार ५ गते औँशी समेत परेको थियो । वर्षमा एक या दुई पटक सोमबार र औँशी पर्ने गर्छ । पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्न पाएनन् । विगतमा पशुपतिनाथ सहित देशभरका मन्दिर तथा शिवालयमा दर्शन गर्नेहरुको भिड लाग्ने गथ्र्यो । यसपटक कोरोना संक्रमण जोखिमका कारण भक्तजनहरुले दर्शन गर्न पाएनन् । साउनका सोमबार पशुपतिनाथ तथा शिवका मन्दिरमा दर्शन गर्न नपाएका भक्तजनले आस्था भने कायमै रहेको बताएका छन् ।
साउन महिनाको महत्व
साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण महिना मानिन्छ । विशेष गरी साउनको सोमबार शिवजीको ब्रत एवं पूजा गर्ने चलन छ । साउन महिनाको सोमबार पार्वतीले शिवजीको प्रसंन्नताका लागि ब्रत बसेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसैले भगवान शिवको पूजा र ब्रत हुने भएकाले साउन महिनाको विशेष महत्व छ ।
साउनको सोमबार महिमा
साउनको सोमबार महिमा साउन महिना र सोमबार भगवान शिवको प्यारो महिना र बार मानिने भएकाले सोमबार बिहानै स्नान गरी शिवालयमा पूजाआजा र दर्शन गर्न भक्तजनको भिड लाग्ने गर्छ । यो दिन शुद्ध मनले शिवको आरधना गरे मनोकांक्षा पूर्ण हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । पंण्डित रविन्द्र आचार्यका अनुसार
सोमबारे व्रतं कार्यको महत्व श्रावणे वै यथाविधि:
सक्तेनोपोष्णं कार्यमथवा निशिभोजनम्
अपुत्रो लभते पुत्रत्रिर्धनो धनवान भवेत्
अविद्यो लभते विद्यामिति धर्मविदो विदु :
अर्थात् विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना , अविवाहित महिलाले योग्य वरको कामना, सन्तान नहुनेले सन्तानको कामना, धन नहुनेले धनको कामना, विद्याको चाहना हुनेले विद्याको कामना गर्दै साउने सोमबारको ब्रत बस्ने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।
ब्रत अर्थात् उपासनाको महत्व
ब्रत अर्थात् उपासनाको महत्व यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । विशेष कामना सहित साउनको सोमबारको ब्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी ब्रत समापन गर्ने चलन छ । ब्रत बस्ने व्यतिले एक छाक मात्र सात्विक भोजन गरि शिवको उपासना गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक ग्रन्थहरुमा रहेको आचार्य बताउनुहुन्छ ।
साउन महिना हरियाली महिना भएकाले ब्रत बस्दा हरियो, पहेँलो र रातो रङ्गका वस्त्र, चुराको साथै मेहन्दी लगाउँदा भगवान शिवजी खुसी भई ब्रतालुको इच्छा पूरा हुने विश्वास रहिआएको छ । अहिले सोमबारको ब्रतलाई विशेष उत्सवका रूपमा मनाउन थलिएको छ । ब्रत बस्नेहरू महिनाभरि चोखो खान्छन् भने ब्रत नबस्ने महिलाहरू हरियो, पहेँलो चुरा र मेहन्दी लगाउने गर्दछन् ।
साउनमा महिलाहरू मेहन्दीका साथै हरियो, पंहेलो र रातो चुरा लुगा र पोतेमा सजिएको देखिन्छ । एक स्वस्थ्य मानिस हप्तामा एक दिन ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाइदा पुग्ने विज्ञानले समेत पुष्टि गरेको छ । तर कुनै व्यक्ति रोगी, अशक्त छ भने ब्रत नबस्दा राम्रो हुन्छ ।