बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो

कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ ।

सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना गरेका छैनन् । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको यात्रु नवराज भण्डारीले गुनासो गर्नुभयो ।

परिचालकले चढ्नेलाई नआऊ भन्न नसकिने भनी उत्तर दिने गरेको नेपाल यातायातमा यात्रा गरी झर्नुभएकी यात्रु पार्वती घोरासैनीले बताउनुभयो ।
सार्वजनिक सवारी सिटभर यात्रु भरिएर उभिरहेका बेला पनि आधा घण्टासम्म कुरेर पर्खने क्रम दोहोरिन थालेको उहाँको गुनासो छ ।

केही दिन अघिसम्म काठ क्षेत्रका सवारीमा मात्र यात्रुको भीड देखिने गरेकामा अब भित्री शहरमा चल्ने सवारीमा पनि भीड बढ्न थालेको छ । भित्री शहरमा चल्ने नेपाल यातायात, कान्तिपुर यातायात, विभिन्न स्थानमा चल्ने माइक्रो र सफा टेम्पोमा पनि सिटभर यात्रु देखिन थालेका छन् ।

हाल उपत्यकामा पोशाक एवं सादा पोशाकमा समेत गरी २९ टोली सार्वजनिक यातायात अनुगमनकै लागि खटाइएको उहाँले बताउनुभयो । शुक्रबार सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने १९ सवारीलाई कारवाही गरिएको थियो ।

सरकारले तोकेको साविकको भाडादरमा ५० प्रतिशतभन्दा बढी भाडा लिने १३ वटा माइक्रो र ट्याक्सीलाई सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार रु ५०० भन्दा बढी जरिवाना गरिएको छ ।

सार्वजनिक सवारीले ५० प्रतिशतभन्दा बढी भाडा लिन बसभित्र स्यानिटाइजरलगायत सुरक्षा व्यवस्था मिलाएको हुनुपर्ने व्यवस्थाको पनि पालना भएको छैन ।

सार्वजनिक यातायातमा साबुन पानीले हात धुने व्यवस्था गर्न पानीको अभावका कारण कठिन छ । सार्वजनिक यातायातमा भीड बढेसँगै पुनःसङ्क्रमण बढ्नसक्ने खतरा देखिएको छ ।

[sidebar name="button post"]