कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।
अहिले नयाँ सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका सङ्क्रमित भएको बताउनुभयो । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका सङ्क्रमित रहेका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पहिले भन्दा अहिले अस्पताल आउने सङ्क्रमितमा लक्षण देखिन थालेका बताउनुभयो । “पहिले अस्पतालमा भर्ना हुने सङ्क्रमित लक्षणविहिन रहेका थिए”, उहाँले भन्नुभयो, “तर अहिले अस्पतालमा भर्ना भएका सङ्क्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन् ।” अस्पताल भर्ना भएका सातजना सङ्क्रमित भारतका रहेका छन् ।
नेपालमा अहिलेसम्म १८ हजार ३७४ सङ्क्रमितमध्ये ७०.५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन् । मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला रहेका छन् । अहिले पाँच हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा ५.५ प्रतिशत सङ्क्रमण दर रहेको छ भने सङ्क्रमितको मृत्यु दर ०.२ प्रतिशत रहेको छ ।
विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख ६६ हजार ८४० जना रहेका छन् । जुन कूल सङ्क्रमितको ४.१ प्रतिशत रहेको छ । यस्तै ९५ लाख ५४ हजार ८९० जना निको भई घर फर्किसकेका छन् ।