साउन ९ , काठमाण्डौ । काठमाण्डौको सोल्टि दोबाटोमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरी परिसर काठमाण्डौ र महानगरीय अपराध अनुशन्धान महाशाखाको संयुक्त टोलीले दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डल्लु बस्ने रौतहटको लक्ष्मीपुरका मोहम्मद आलम र अर्का मुन्ना मोहम्मद रहेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता इश्वर कार्कीले जानकारी दिनुभयो । प्रारम्भिक अनुशन्धानमा प्रेमसम्बन्धका कारण एसिड प्रहार भएको देखिएको पनि उहाँले बताउनुभयो ।
हिजो बेलुका युवतीमाथि एसिड प्रहार भएको थियो । ओलखढुंगा घर भएकी युवतीमाथि सोल्टी दोबाटोमा एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।