कृष्ण वाग्ले
साउन ८ । लकडाउन हटेकै दिन ७ गते थप सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा १८ हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ । सरकारले मंगलबार रातीदेखि लकडाउन सकिएको घोषणा गरेसँगै बुधबारदेखि चहलपहल सुरु भएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि झण्डै ४ महिना लामो लकडाउन गरेको हो । लकडाउनले गर्दा सर्वसाधारण नागरिक सहित साना ठुला व्यापार व्यवसाय गर्ने व्यापारी, उद्योग धन्दा, कलकारखाना, यातायात, विद्यालय, सरकारी कार्यालय जस्ता सबैजसो क्षेत्रमा असर परेको छ ।
लकडाउनले पारेको असर भने तत्काल सकिने अवस्था छैन । लकडाउनले पारेको प्रभावबारे कागेश्वरी मनोहरा नगरपालिकाका व्यवसायीको अनुभव यस्तो छ :
वर्कशप सञ्चालक हरेन्द्र शाह
कागेश्वरी मनोहरा नगरपालिका ५ मा वर्कशप सञ्चालन गर्ने हरेन्द्र शाह भन्नुहुन्छ, कोरोना कहर निक्कै भारी हुने देखिन्छ । झण्डै २ महिना वर्कशप बन्द रह्यो । गाउँ जान पनि पाइएन । राहत पनि दिएनन् । लकडाउन भन्दा पहिलाको जस्तै अवस्था कहिले बन्ला पत्तै छैन । लकडाउन खुलेपछि केहि सहज भने भएको छ । सरकारले हामीजस्ता साना व्यापारीका लागि आर्थिक सहयोग वा कोठाभाडा मिनाहाको घोषणा गरे केहि राहत पुग्ने थियो ।
कपडा व्यापारी शान्ती चौलागाईं
कागेश्वरी मनोहरा नगरपालिका ६ मा कपडाको व्यापार गर्ने शान्ती चौलागाईँले पनि लकडाउनका बेला निक्कै सास्ती भोग्नुपरेको गुनासो गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, लकडाउनपछि पसल खोल्न सकिएन । विहान ८ बजेसम्म पसल खोल्दा व्यापार भएन । हप्तामा २ जोर चप्पल बेचेर पसलको भाडा तिर्न सक्ने अवस्था छैन । कोठाभाडा पुरै तिर्नुपर्नेछ, घरवेटीले मिनाहा गरेका छैनन् । आर्थिक समस्या बढ्दै गएको छ ।
चटपटे बेच्ने पवित्रा लामिछाने
सिन्धुपाल्चोक घर भई थलीबसपार्क बाहिर चनाचटपटे र पानीपुरी बेच्ने पवित्रा लामिछानेको गुनासो छ, लकडाउन झण्डै ४ महिना भोग्नुपर्यो । सरकारले राहत दिएन । परिवार पाल्न धौ धौ छ । कमाईको बाटो भनेकै चनाचटपटे र पानीपुरी थियो । कोरोनाले गर्दा आयस्रोतकै बाटो बन्द भयो । तीन महिना बेरोजगार बस्नुपर्यो । अब लकडाउन खुलेको छ तर नगरपालिकाले ठेला बसपार्कबाट हटाउन भनिरहेको छ । नगरपालिकाले व्यापार गर्ने व्यवस्थित ठाउँ मिलाइदिनुपर्छ ।
लिकर्स सपकी रेज्मी केसी
थलीमा लिकर्स सप गर्ने रेज्मी केसीले व्यापारमा नोक्सानी भोगेको गुनासो गर्दै भन्नुहुन्छ, हिजोआज पसलको दिनचर्या बिग्रिएको छ । बैंकको ऋण तिर्न गाह्रो छ । लकडाउनका कारण पसल चलेन । तर बैंकले समयमै कर र ऋण चुक्ता गर्न निर्देशन दिएको छ ।
लाइट पसलका इश्वरप्रसार लुईँटेल
कागेश्वरी मनोहरा नगरपालिका ५ मा मनकामना इन्टरनेसनल लाइट सप्लार्यसका इश्वरप्रसाद लुईँटेल भन्नुहुन्छ, सरकारको पक्षबाट व्यापारीलाई धेरै सहयोगका काम हुन सक्छन् तर सरकारले केहि गर्ने देखिएन । अन्तिममा आफैले गर्नुको विकल्प छैन । गुनासो गर्नुभन्दा आफैले निरन्तर काम गर्नु नै बेस छ ।
किराना स्टोर्सका मुकुन्द वाग्ले
वडा ५ मै किराना स्टोर्स चलाउने मुकुन्द वाग्लेको लकडाउन अनुभव छुट्टै छ । लकडाउनका तीन चार दिन दशैं आए सरह व्यापार भयो । खाद्यान्न सहित विभिन्न सरसामग्री जोहो गर्नेहरुको भिड बढ्यो । त्यसपछि पसल खोल्न पाइएन । प्रहरीले सटर लगाउन भनेपछि व्यापार ठप्प भयो । काठमाण्डौ कोरोना जोखिम नहुँदै सरकारले लकडाउन गर्यो । तर अहिले संक्रमण बढेको बढ्यै छ, लकडाउन खुल्यो । अबचाहीँ कोरोनाको जोखिम छ, काम धन्दा गर्नुपर्र्छ तर आफै सुरक्षित रहनुको विकल्प छैन ।