पशुपति पुगेका भक्तजन भन्छन् ‘मन्दिर बन्द भए पनि आस्था खुल्लै छ’

अजय खत्री र रमिता दंगाल

५  साउन, काठमाण्डौ । आज साउनको पहिलो सोमबार । सोमबारे औंशी मनाइदैछ । स्नान या दानका लागि सोमबारे औंशी शुभ मानिन्छ । साउन महिना र सोमबार भगवान शिवको प्रिय महिना बार भएकाले यस दिन चोखो मनले वर्त बसेर नदी, ताल, तलाउ लगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । श्रावण महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पनि विशेष मानिन्छ । धार्मिक शास्त्र अनुसार साउने सोमबारको व्रत महिला र पुरुष दुवैले लिँदा पारिवारीक सुख, शान्ती र मनोकांक्षा पूर्ण हुने विश्वास रहिआएको छ ।

पार्वतीले श्रावण महिनाभरि निराहर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्बदन्ती रहेको हुनाले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । बिवाहित महिलाहरुले आफ्नो श्रीमानको दिर्घायू, स्वास्थ्यको साथै पारिवरिक सुख शान्ति र सुखमय दाम्पत्य जीवनको कामना गर्दै यो व्रत लिने गर्छन् । त्यसैगरी अबिवाहित महिलाहरुले मनोकांक्षा पुरा होउन् र महादेव जस्तै वरको कामना गर्दै साउने सोमबारको व्रत लिने गर्छन् ।

विगतमा साउन महिनाभरी भिडभाड रहने पशुपति क्षेत्रमा यसपालिको साउने औशींको सोमबार भक्तजनको घुइँचो छैन । तर भक्तजनको आस्थामा भने कमि आएको छैन । भक्तजनहरुले मन्दिर बाहिर खोला किनारमा पुजा आजा गरेको देखिन्थ्यो । पशुपतिनाथको मुल मन्दिर खुला नभए पनि परिसरका मठ मन्दिरमा दर्शनार्थीहरुले पूजा आराधाना गरेका छन् । काठमाण्डौको गोगंबुबाट पशुपति पुगेकी नारायणी घिमिरेले मन्दिर नखुल्दा खल्लो लागेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘संक्रमण जोखिम भएपनि आफ्नो सुरक्षा आफैँ अपनाउ भन्ने चेतनाका साथ मन्दिर खुलाउन सकिन्थ्यो की ?

सामाखुशीबाट आउनु भएका तारा थपलियालाई भने मन्दिरमा भिडभाड र भौतिक दूरी कायम नभएकाले संक्रमण जोखिम बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने बताउनुहुन्छ । मूल मन्दिरको दर्शन गर्न नपाउँदा मन खिन्न भएको उहाँको गुनासो छ ।

मूल मन्दिर बन्द भए पनि आफ्नो आस्था खुल्लै रहेको कोटेश्वरबाट पशुपति पुगेकी दिव्यासिंह ठकुरीले बताउनुभयो । यो वर्षको पहिलो साउने सोमबार औँसी पनि परेकाले थप महत्व रहेको भक्तजनले बताएका छन् । सोमबार र औंशीको संयोग कमै पर्ने गर्छ । वर्षभरिमा एकचोटी या दुइचोटीसम्म सोमबारे औंशी पर्छ ।

[sidebar name="button post"]