काठमाडौँमा खानेपानी धारा मिटरको अङ्क ग्राहक आफैँले अनलाइनमार्फत टिपाउन सक्ने
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले कोभिड–१९ को जोखमलाई न्यूनीकरण गर्न कम्पनीका ग्राहकलाई आफैँले खानेपानी धाराको मिटरको अङ्क अनलाइनमार्फत टिपाउन सकिने व्यवस्था गरेको छ ।
ग्राहकले टिपाएको अङ्क मिटर रिडरबाट छड्के निरीक्षण (क्रस चेक) हुने पनि लिमिटेडले जनाएको छ । ग्राहक आफैँले कम्पनीको वेबसाइट काठमाडौँ वाटर डट वोआरजीमार्फत अङ्क टिपाउन सक्ने लिमिटेडले सूचनामार्फत जनाएको छ ।
कम्पनीका ग्राहकले वेबसाइटमा खोली सेल्फ मिटर रिडिङमा क्लिक गरी चढेको अङ्क देखिने गरी खिचिएको मिटरको फोटो अपलोड गर्न सकिने जनाइएको छ । कम्पनीका कर्मचारी र ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको लिमिटेडले जनाएको छ ।