काठमाण्डौ उपत्यकाभित्र समुदायमा कोरोना संक्रमण भेटिएन ; स्वास्थ्य मन्त्रालय

काठमाण्डौ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र अहिलेसम्म समुदायमा कोरोना संक्रमण नभेटिएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाभित्र भक्तपुरमा २ र काठमाण्डौमा १ गरी तीन जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित तीन जनामध्ये दुई जना हालै विदेशबाट फर्किएका र एक जना व्यूटी पार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदायस्तरमा संक्रमण नफैलिएको पुष्टि भएको पनि उहाँले बताउनुभयो । संक्रमणको जोखिम भने कायमै रहेको र सर्तकता अपनाउन उहाँको सुझाव छ ।

पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । संक्रमितमध्ये ११ हजार ५ सय ३४ जना उपचारपछि निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।