पन्ध्र अन्तर्राष्ट्रिय उडान बाट एक हजार २४९ नेपाली फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् ।

आज नेपाल एयरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ ।

त्यस्तै जजीरा एयरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौँ ल्याएको छ भने एयर अरेबियाले सारजहाबाट १६७ यात्रु नेपाल ल्याएको छ ।

कतार एयरवेजले दोहाबाट दुई नेपाली काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ । हिमालय एयरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

शनिबार पनि विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ ।