काठमाण्डौ , झापाका चन्दन जिन्दल ठगी आरोपमा भक्तपुरबाट पक्राउ ठगिको मुद्धा दर्ता भएपछि भागिरहेका झापाको दमक नगरपालिका ७ कृष्णमन्दिरका मनिष अग्रवाल भनेर चिनिने चन्दन जिन्दल पक्राउ परेका छन् ।
झापा, बारा, पर्सा र सर्लाही बस्ने बिभिन्न व्यक्तिहरुलाई बिभिन्न बहानामा ठगी गरेर भागिरहेका उनलाई भक्तपुरको मध्यपुर ठिमि नगरपालिका ३ गठ्ठाघरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । जिन्दलले झापा, बारा, पर्सा र सर्लाही बस्ने २२ जनासँग ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
खाद्यान्न व्यापारीलाई बिश्वासमा लिएर उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगद बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।