काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा कोभिड–१९ को सङ्क्रमण छ वा छैन भनेर भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिको परीक्षण गरेको हो । ती तीन जनामध्ये दुई जना बाहिर मुलुकबाट आएका व्यक्ति हुन् । पाँच हजारमा गरिएको नमूना परीक्षणमध्ये ८०० जनाको नतिजा आउन बाँकी छ ।
केही दिन यता बाहिर जिल्लामा सङ्क्रमण दर घटे पनि उपत्यकामा सङ्क्रमित बढेपछि महाशाखाले उपत्यकाका भीडभाड हुने ठाउँका मानिसमा परीक्षण गरेको हो ।
हिजो मात्र काठमाडौँ जिल्लामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
नेपालमा अहिलेसम्म तीन लाख तीन हजार ८१० को पीसीआर परीक्षण गर्दा १७ हजार ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ११ हजार २४९ जना सङ्क्रमण मुक्त भई घर फर्किसकेका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ ।