भूकम्पले भत्काएको पानी ट्यांकीमा श्रमिकको लकडाउन !

रमिता दंगाल काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारमा पानी ट्यांकी निर्माणको काम कामदारको अभावले रोकिएको छ । २०७२ सालको भूकम्पले भत्किएको ट्यांकी पुनर्निर्माण भइरहेका बेला कोरोनाले गर्दा लकडाउन भएपछि कामदारको अभाव भएको हो ।
खानेपानी विभागको २ करोड २८ लाख रुपैयाँमा निर्माण भइरहेको पानी ट्यांकी निर्माणको काम २०६४ सालमा शुरु भएको थियो । जमीनमुनिबाट बोरिङमार्फत ट्यांकीमा पानी भर्ने र त्यसैबाट गोठाटारका स्थानीयलाई खानेपानी वितरण गर्ने योजना छ ।
भूकम्पले गर्दा भत्केको पानी ट्यांकी निर्माणको काम कोरोनामा लकडाउने गर्दा झन् अलपत्र परेको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष मनोहर चापागाईका अनुसार कोरोनाले गर्दा घर गएका कामदार अहिलेसम्म फर्किएका छैनन् । भूकम्पले भत्केपछि जगबाटै फेरि पानी ट्यांकी निर्माणको काम थाल्नुपर्ने बाध्यता छ ।
झण्डै दुई हजार घरलाई खानेपानी !
अध्यक्ष चापागाईका अनुसार डिप बोरिङबाट ट्यांकीमा पानी भरेर गोठाटारका दुई हजार घरमा पानी वितरण गर्ने लक्ष्य छ । अहिलेसम्म १८ सय घरधुरीको तथ्यांक संकलन भएको छ । घर थपिदै गएकोले दुई हजार घरधुरीलाई पानी वितरण गर्ने लक्ष्य भएपनि त्यो पूरा हुन भने सकेको छैन ।
लामो समयदेखि निर्माण थालिएको भएपनि पानी ट्यांकी निर्माण हुन नसकेपछि स्थानीय असन्तुष्ट छन । तीन लाख लिटर क्षमताको ठूलो ट्यांकी बनाईने भएपनि काम सही रुपमा अगाडी बढ्न सकेको छैन । यो काममा प्राकृतिक विपद्सँगै समन्वयको पनि अभाव देखिन्छ ।
यसै साउन महिनासम्म सक्ने पछिल्लो लक्ष्य थियो । तर कोरोनाले गर्दा रोकिएपछि आगामी दशैँसम्म काम सक्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष चापागाईले बताए । बर्षौदेखि पानीको समस्या हल गर्न डिप बोरिङबाट तानेर वितरण गर्ने योजना नभएपछि सो ठाउँमा नयाँ परियोजना पनि सञ्चालन गर्ने तयारी छ ।
एउटा पूरा नहुदै खानेपानीको अर्को आयोजना !
गणेश मन्दिरको पछाडीका दुई वटा ठाउँबाट डिप बोरिङमार्फत अहिले त्यहाँ खानेपानी वितरण भइरहेको छ । तर स्वच्छ र पिउने पानीको अभाव पूर्ति अहिलेसम्म हुन सकेको छैन । अहिले पानी ट्यांकी निर्माणको परियोजना समयमै निर्माण पूरा नभएपछि नयाँ परियोजना पनि आएको समितिका अध्यक्ष चापागाईको भनाई छ ।
नयाँ परियोजनाका विषयमा अध्ययन चलिरहेको उनले बताए । तर कति बजेट र कहिलेदेखि काम शुरु हुने भन्ने खुलाइएको छैन । गोठाटारमा खानेपानीको अभाव धेरै नै छ । जमीनमूनिबाट पानी तानेपनि त्यो पिउनका लागि स्वच्छ मानिदैन ।
त्यसैले जमीनबाट डिपबोरिङमार्फत पानी तानेर ट्यांकीमा भरेपछि त्यसैबाट ‘फिल्टर’गरेर वितरण गर्ने योजना छ । तर दुई दुई वटा परियोजना सञ्चालन गरिदा पनि गोठाटारका मानिसले कहिले खानेपानी पिउने हो ? टुंगो छैन ।
[sidebar name="button post"]