अनिता धिताल
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा –६ चखनडोलमा निर्माण भइरहेको पार्क आर्थिक अभावका कारण रोकिएको छ । विभिन्न संघ संस्थाको सहयोगमा निर्माण शुरु गरिएको पार्क अहिले आर्थिक अभावका कारण रोकिएको हो । पार्क निर्माणका लागि नगरपालिकामै भएका केही स्थानीय र बाह्य संस्थाको सहयोग रहेको स्थानीय जनप्रतिनिधिको भनाई छ ।
एक बर्षदेखि निर्माण शूरु गरिएको पार्कको आधा काम सकिएपनि पुरै काम सम्पन्न गर्न आर्थिक अभाव रहेको वडासदस्य उमेश अधिकारीले बताए । पार्कमा आँप, अम्बा, कागती, अनार लगायतका फलफूलका विरुवा रोपिएका छन । केही पूलका विरुपा समेत रोपिएपनि पार्क संरचना निर्माणको काम नसकिएको उनको भनाई छ ।
नगरपालिकामा पार्क निर्माण गरेर पर्यटकीय क्षेत्र विस्तार गर्न खोजिएपनि आर्थिक अभावका कारण त्यो सम्पन्न हुन नसकेको अधिकारीले बताए । कुन कुन संस्थाको सहयोगमा पार्क निर्माण शुरु गरिएको हो भन्ने खुलेको छैन । विगतमा केही संस्थाको सहयोगमा पार्क निर्माणको काम शुरु गरिएपनि उनीहरुले अहिले आर्थिक सहयोग रोकेपछि पार्क निर्माण अलपत्र परेको स्थानीयको गुनासो छ ।
आर्थिक अभावका कारण रोकिएको पार्क निर्माणको बाँकी काम अगाडी बढाउन नगरपालिकाले तयारी गरेपनि टुंगोमा पुग्न सकेको छैन । आगामी आर्थिक बर्षसम्म पार्क निर्माण सम्पन्न गर्ने योजनाका साथ बजेटको खोजी तथा व्यवस्थापनको काम भइरहेको नगरपालिकाका जनप्रतिनिधिको भनाई छ ।