देशभर बदली, आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

१ भदौ, काठमाण्डौ। देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।