उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी

१८ जेष्ठ, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा निषेधाज्ञालाई एक साता थप्ने तयारी भएको छ। कोरोना भाइरस संक्रमणमा केही कमि आएको भन्दै निषेध आदेश पूर्ण रुपमा निषेध नगरी पनि केही खुकुलो गर्ने तयारी भइरहेको हो ।

आज अपरान्ह ४ बजे उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ। सोही बैठकले निषेध आदेशलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

तर, खाद्य तथा किराना पसल भने खुलाउन दिने बताइएको छ । अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ। त्यसपछि थपिने निषेध आदेश केही खुकुलो हुने भएको हो।

कतिपय विज्ञले समेत संक्रमण दर घटेकाले असारबाट निषेधाज्ञा खुकुलो पार्न सकिने सुझाएका छन्। निषेधाज्ञालाई लम्बाइराख्दा सर्वसाधारणको दैनिक जीवनयापन कठिन हुने भन्दै संक्रमणलाई नियन्त्रण गर्दै निषेधाज्ञालाई समेत खुकुलो पार्दै लानुपर्ने उनीहरूको राय छ।

यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिँदैछ। उक्त निषेधाज्ञामा भने खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरिएको थियो। त्योभन्दा अगाडि निषेधाज्ञा भए पनि खाद्यान्न पसललाई समेत बिहान ९ बजेसम्म खोल्न दिइएको थियो। तर खाद्यान्न पसल खोल्दा झन् भिडभाड भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको थियो।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गर्दै आएका छन् ।

यो सातामा किराना पसल समेत खोल्न दिइएको छैन भने सडकमा सवारीसाधनलाई पनि कडाई गरिएको थियो । अब संक्रमणदर कम हुँदै गएकोले किराना पसल सञ्चालन गर्न दिने तयारी भइरहेको छ । साथै निषेधाज्ञा केही खुकुलो गरेर जाने बुझिएको छ ।