पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३८ वटा सवारी साधनलाई प्रहरीको नियन्त्रणमा

१२ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ३८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये ४ सय ५६ वटा गाडी र १ हजार ८२ वटा मोटरसाइकल रहेका छन् ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ९८ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै २ हजार ७ सय ४१ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।