पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार गाडी दाङमा दुघर्टना

१२ जेष्ठ, काठमाण्डौ। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको गाडी दाङमा दुर्घटना भएको छ । जिल्लाको तुलसीपुरमा पत्रकार अध्यक्ष पोख्रेल चढेको गाडीलाई स्कारपियोले ठक्कर दिएको हो ।

तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको स्कारपियोले प्रदेश ३–०१०२२च ९२२६ नम्बरको कारलाई ठक्कर दिदाँ नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम गम्भीर घाइते भएका छन् ।

नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कारमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगायतको टोली रहेकाे थियो ।

पत्रकारको टोली नेपाल पत्रकार महासङ्घ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै थियो । ठक्कर दिने जीपलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।